इस्लामावाद । पाकिस्तानको राजधानी इस्लामावादस्थित एक शिया मस्जिदमा शुक्रबार भएको आत्मघाती बम विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै १३० भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।
पाकिस्तानका एक वरिष्ठ प्रहरी अधिकारीले समाचार समिति एएफपीसँग उपासकहरूले खचाखच भरिएको मस्जिदमा शुक्रबारको प्रार्थनापछि विस्फोट भएको बताएका छन् ।
उनले भनेको छन- मस्जिदको गेटमा आक्रमणकारी आफैँले विस्फोट गराएका थिए । एएफपीका अनुसार पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेज अस्पतालमा कैयौँ वयस्क र बालबालिकालाई स्ट्रेचरमा राखेर वा हात र खुट्टामा समातेर वा उचाल्दै लगिएको छ । अस्पतालमा चिकित्सक र प्रत्यक्षदर्शीहरूले एम्बुलेन्स र गाडीहरूको पछाडिबाट रगतले लत्पतिएको कपडासहित पीडितहरूलाई उतार्न मद्दत गरेका देखिन्थ्यो ।
घाइतेका नजिकका साथी र आफन्तहरूको अस्पतालमा भिड लागेको छ ।
एएफपीका पत्रकारहरूको अर्को टोलीले मस्जिद बाहिर सशस्त्र सुरक्षा बलले घेरा हालेको जनाएको छ ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले विस्फोटमा संलग्नहरू पत्ता लगाएर न्यायको कठघरामा ल्याइने बताएका छन् । पाकिस्तान सुन्नी बहुल राष्ट्र हो तर यहाँ शिया समुदायको जनसङ्ख्या १० देखि १५ प्रतिशत रहेको छ ।
