झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताएका छन् । चुनावी अभियानका लागि शुक्रबार गृहजिल्ला पुगेका अध्यक्ष ओलीले चन्द्रगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै यसपटक झापा सूर्यमय हुने र त्यसमा योगदान गर्न आग्रह गरे ।
‘तपाईँसँग भिड्न युवा पुस्ता आएका छन् नि’ भन्ने पत्रकारको प्रश्नमा ओलीले भने, ‘भिड्न आउँछु भन्नेलाई स्वागत गर्छु, खुसी लाग्छ। नयाँ हाम्रा भाइ, भतिजा, छोरा, नातिहरूको पुस्ताले सिक्छु, राजनीतिमा लाग्छु भन्छ भने त्यसलाई नराम्रो मान्नुपर्ने कुरा छ र ?’
अध्यक्ष ओलीले झापाली जनताको माया र समर्थन एमालेप्रति रहेको बताए । उनले युवापुस्ताको ऊर्जा र सहभागिताले पार्टीलाई अझ मजबुत बनाउने बताए । झापा ५ मा एमालेबाट अध्यक्ष ओली, रास्वपाका नेता बालेन साह र नेकपाका रञ्जित तामाङ चुनावी प्रतिस्पर्धामा छन् ।
