-डा. सन्देश दाहाल
दृष्य नं १ः बिरामी (नामको) ट्याक्क आफ्नो प्राइभेट गाडीबाट झर्छ, ओपिडीमा जान्छ र भन्छ,’डाक्साब नमस्कार, म फलानो वरिष्ठ । म फलानो निजी अस्पतालमा नियमित जचाँउछु । त्यहाँ देखाउन मेरो रगत, कोलेस्टेरोल, एमआरआइ गराउनुपर्छ । बीमामा ८० हजार जति बाँकी होला, यहाँ हुनेजति सबै जाँच गराइदिनुस् है । यता पैसा लाग्दैन भनेर मात्र आएको।’
दृष्य नं २ः बिरामी ओपिडीमा । ‘डाक्टर साब, मेरो बेला बेला टाउको दुखेजस्तो हुन्छ। सब जाँच गराउन आएको।’ डाक्टर– ‘लक्षण माइग्रेनको छ, एमआरआइ गर्न पर्दैन । औषधि खानुहोला’ बिरामी–“कस्तो डाक्टर होला, अन्दाजको भरमा औषधि लेख्ने ? मलाइ एमआरआइ गर्नुपर्यो।’ त्यसपछि गाउँ शहरका प्रधानमन्त्रीहरुको फोन र धमास । डाक्टर–’लौ आउनुस, भएजति सबै जाँच गर्नुहोस्।’
दृष्य ३ः बिरामीको आफन्त–’डाक्टर साब, मलाइ ठूलो ठाउँमा जाँच गराउनु पर्यो रिफर गरिदिनुस।’ डाक्टर– ‘तपाइँको रोग अनुसार रिफर गर्नुपर्दैन, यहाँ उपचार हुन्छ।’ आफन्त,’उसोभए ग्यारेन्टी दिनुहोस् कि मेरो बिरामी यहीँ सन्चो हुन्छ।’ डाक्टर–’नमस्ते, रिफर जानुहोस्, नो ग्यारेन्टी।’
दृष्य ४ः अपरेसनको पैसा कति ? नियमित तवरले गर्दा बाह्र हजार । बीमाबाट कति ? चालीस हजार।
दृष्य ५ः कतिपय मानिसको मनमा–’३,५०० तिरेको छ, १ लाख बराबर जाँच उपचार नगराम त घाटा हुनेभयो।
दृष्य ६ः बिरामी सिरियस छ, बीमामा जँचाउन ल्याएको, उपचारमा खर्च गर्ने पैसा नै छैन। बीमामा लाइन लामो छ, पालो पाउनमा समस्या छ। बल्ल कुरेर पालो आयो, अस्पतालमा बीमा नै क्यान्सिल भएछ। उपचार नै गर्न नसक्ने भयो।
दृष्य ७ : वास्तबिक बीमा चाहिने बिरामी बर्ग चाहिँ। डाक्टर–’कहिले बेहोस् भएको?’ आफन्त,’ २ दिन भयो।’
डाक्टर,’किन ढिलो गरेको त?’
आफन्त,’के गर्नु सर पैसा नै थिएन।’ डाक्टर,’स्वास्थ्य बीमा थाहा छैन ? सरकारले एक लाख सहयोग गर्छ त ।’ आफन्त: ३, ५०० कहाँबाट ल्याउनु डाक्टर साब एकै पटक तिर्न। दिनभर बुढा–बुढीले ईँटा बोक्दा ४ सय र ४ सय हुन्छ । खानुपर्यो, कोठाभाडा तिर्नुपर्यो, ३ जना बच्चा छन्।’
समग्रमा भन्दा मेरो निजी अनुभवमा स्वास्थ्य बीमा नचाहिनेलाई होल बडी चेकअपको प्रिमियम लक्जरी भएको छ, भने जसलाई वास्तवमै आवश्यक छ, उनीहरु चाहिँ नक्कली सक्कली बिरामीहरुको भीडमा हराएर सास्ती खेप्न बाध्य छन् । बीमालाई ३,५०० मा १ लाखको प्रिमियम होल बडी चेकअपको सुविधाको रुपमा हेर्ने आँखा रहेसम्म बीमा कहिल्यै सफल हुनेछैन।
के गर्ने त?
१. कर्मचारीहरुको तलबबाट नै दस्तुर कटाएर बीमा अनिवार्य गरिदेउ ।
२. आम नागरिकलाई दुई भाग लगाउ, गरीबीको रेखामुनि (below poverty line) र अन्य। BPL को प्रिमियम स्थानीय निकायले तिरिदेउ (भ्यु टावर बनाउने बा छोरीको बिहेमा १५ हजार वा मलामी खर्च जस्ता बेतुक कार्यक्रमभन्दा यो प्रभावकारी हुनेछ।)
३. गरिबीको रेखामुनि नपर्ने नागरिकको हकमा बीमा ऐच्छिक गरिदेउ, र प्रिमियम रकम बढाइदेउ।
४. उपचार गर्ने, जाँच गर्ने वा रेफर गर्ने जिम्मा डाक्टरलाई देउ, बिना दवाव निर्णय गर्ने माहोल बनाउ । प्रोटोकल बनाउ । मन्त्रालयले नै सबै गर्न परेन, चिकित्सकका यत्रा सोसाइटी छन्, समन्वय गरे हुन्छ ।
५. फर्जी बिलको उपचार राम्रो गर ।
खासै रकेट साइन्स छ जस्तो त लाग्दैन क्यारे । नागरिकलाई सजिलो बनाइदिए चुनावमा टिभीमा बहस गर्नै पर्दैन थियो ।
