सुपर आठमा पुग्ने नेपालको लक्ष्य, यस्तो छ दुई विश्वकपको इतिहास

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ शनिबारबाट भारत र श्रीलंकामा शुरू हुँदैछ । तेस्रोपटक विश्वकप खेल्न लागेको नेपालले आइतबार टेस्ट राष्ट्र इंग्ल्याण्डसँग खेल्दै विश्वकपको शुरूवात गर्नेछ ।

तेस्रोपटक विश्वकपमा आफ्नो दाबेदारी प्रस्तुत गर्दा नेपालको एकमात्र लक्ष्य सुपर आठमा पुग्ने हुनेछ । यसअघिको दुई विश्वकपको पहिलो चरणबाटै घर फर्किएको नेपाल यसपटक भने इतिहास फेर्ने लक्ष्यमा रहेको छ ।

समूह ‘सी’मा रहेको नेपालको समूहमा दुई पटकको विश्वकप विजेताद्वय इंग्ल्याण्ड र वेस्ट इन्डिजसँगै एसोसियट राष्ट्र स्कटल्याण्ड र इटाली रहेका छन् । समूहचरणबाट शीर्ष दुई स्थानमा रहने टोली सुपर आठमा पुग्नेछन् । नेपाललाई सुपर आठको ढोका ढक्ढकाउन कम्तिमा दुई खेल जित्नुपर्नेछ । तीन खेल जितेको खण्डमा नेपालको सुपर आठको सपना पुरा हुनेछ । दुई खेल जितेको खण्डमा अन्य टोलीको नतिजामा भर पर्नुपर्नेछ । भारत र श्रीलंकामा दुई चरणको अभ्यासपछि नेपाल विश्वकपको लागि भारत पुगेको थियो  ।

यस्तो छ दुई विश्वकपमा नेपालको प्रदर्शन
नेपालले पहिलोपटक सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकपमा सहभागिता जनाएको थियो । त्यतिबेला नेपालले समूहचरणको तीन खेलमध्ये दुई खेलमा जित र एक खेलमा हार बेहोरेको थियो । पहिलो खेलमा हङकङलाई ८० रनले हराउँदै विश्वकपमा डेब्यु गरेको नेपाल दोस्रो खेलमा बंगलादेशसँग ८ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा अफगानिस्तानलाई ९ रनले हराएपनि नेपाल दोस्रोचरणमा पुग्न असफल भएको थियो ।

तीन खेलबाट नेपाल र बंगलादेशको समान तीन/तीन अंक रहेपनि बंगलादेश नेट रनरेटमा अगाडि रहँदै दोस्रोचरणमा पुगेको थियो । त्यसपछि नेपालले विश्वकप खेल्न १० वर्ष कुर्नुपर्यो ।

दुई वर्ष अगाडि अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना भएको विश्वकपमापनि नेपाल समूहचरण भन्दा अगाडि बढ्न सकेन । विश्वकपको चार खेलमध्ये नेपालले तीन खेलमा हार बेहोर्दा एक खेलमा वर्षा बाधक बनेको थियो । पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटको हार बेहोरेको नेपालले दोस्रो खेलमा वर्षा बाधक बन्दा श्रीलंकासँग अंक बाढेको थियो ।

यस्तै तेस्रो खेलमा दक्षिण अफ्रिकासँग एक रनको झिनो हार बेहोरेको नेपाल चौथो खेलमापनि बंगालादेशसँग २१ रनले पराजित भएको थियो ।

नेपालले विश्वकपमा सात खेल खेल्दा मात्र दुई खेल जितेको छ । नेपालले विश्वकपमा हालसम्म टेस्ट राष्ट्रलाई हराउन सकेको छैन । सन् २०१४ मा अफगानिस्तानलाई हराएपनि त्यतिबेला अफगानिस्तानले टेस्ट राष्ट्रको मान्यता पाएको थिएन । त्यसैले यसपटक सुपर आठमा आफनो स्थान सुरक्षित गर्न नेपालले कम्तिमा एउटा टेस्ट राष्ट्रलाई स्तब्ध पार्नुपर्नेछ ।

उल्लेखनीय दर्शकको अपेक्षा
यसपटकको विश्वकप छिमेकी राष्ट्र भारतमा आयोजना हुने भएकाले नेपाली दर्शकको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ । नेपालीलाई भारतमा प्रवेश गर्न भिसा नलाग्ने भएकालेपनि फेरी एकपटक नेपाली दर्शकले मुम्बईको वानखेडे निलो र रातो रङमा रंगिने अनुमान छ । गत संस्करणमापनि अमेरिकाको डाल्लासमा नेपाली समर्थकको उपस्थितिले विश्वको ध्यान तानेको थियो । भारतमा बसोबास गर्ने र रोजगारीको सिलसिलामा भारत धाउने नेपालीको ठुलो सङ्ख्या रहेकाले नेपाली टोलीलाई समर्थकको कमी हुनेछैन ।

विश्वकपको टिकटमापनि भारतपछि नेपालको खेलको टिकट सबैभन्दा बढि बिक्रि भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यसलेपनि विश्वकपमा नेपाली समर्थकको ओइरो लाग्ने बुझ्न सकिन्छ । यसपटक नेपालको सबै खेल भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा हुनेछ ।

नेपालको उत्कृष्ट लय
विश्वकप अगाडि नेपाली टोली उत्कृष्ट लयमा देखिएको छ । नेपालले आफ्नो पछिल्लो १५ खेल मध्ये १० खेलमा जित हासिल गर्दा चार खेलमा हार बेहोरेको छ । एक खेल भने वर्षाको कारण रद्द भएको थियो । आईसीसी टी-२० विश्वकप अन्तर्गत भएको इएपी र एसिया छनोटमा नेपालले सबै ६ खेल जित्दै च्याम्पियन बनेर विश्वकपमा आफ्नो स्थान बनाएको थियो । त्यसअघि वेस्ट इन्डिजविरुद्ध भएको तीन खेलको सिरिजमा नेपालले २-१ को एतिहासिक जित निकालको थियो ।

यस्तै मंगलबार भएको पहिलो अभ्यास खेलमा युएईलाई ७ विकेट र क्यानडालाई ६ विकेटले हराउँदै नेपालले विश्वकपको लागि तयार रहेको सङ्केत गरेको थियो । तर नेपाललाई ढुक्क हुनुपर्ने अवस्था भने छैन । विश्वकप अगाडि नेपालका ओपनर आसिफ शेख र कुशल भुर्तेलको जोडी जम्न सकेको छैन भने तीव्र गतिका बलर नन्दन यादव र सोमपाल कामीले आफ्नो लय समात्न सकेका छैनन् ।

विश्वकपमा नेपालको खेल तालिका
नेपाल विरुद्ध  इंग्ल्यान्ड, ८ फेब्रुअरी (माघ २५ गते), दिउँसो ३:१५ बजे
नेपाल विरुद्ध  इटाली, १२ फेब्रुअरी (माघ २९ गते ), दिउँसो ३:१५ बजे
नेपाल भर्सेस वेस्ट इन्डिज, १५ फेब्रुअरी (फागुन ३ गते), विहान ११:१५ बजे
नेपाल भर्सेस स्कटल्यान्ड, १७ फेब्रुअरी (फागुन ५ गते), राति ७:१५ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *