राष्ट्रपति पौडेल जापानबाट स्वदेश फिर्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर बुधबार स्वदेश फर्किएका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशील कार्की, मन्त्रीहरु र सुरक्षा निकायका प्रमुखहरुले स्वागत गरेका थिए । सो अवसरमा नेपाली सेनाले उनको सम्मानमा सलामी अर्पण गरेको थियो ।

जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा जापानमा आयोजना भएको विशेष समारोहमा सहभागी हुन आइतबार राति त्यसतर्फ प्रस्थान गरेका थिए ।

जापान भ्रमणका क्रममा राष्ट्रपति पौडेल टोकियोमा जापान सरकारले अयाोजना गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागी भएका थिए । उनले सो समारोहलाई सम्बोधन गरे ।

त्यस्तै, टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेलले जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेट गरे । उनीसँग जापानका प्रधानमन्त्री ताकाइची सानाए र जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले शिष्टाचार भेटवार्ता गरेका थिए ।

भ्रमणका क्रममा जापानी व्यापारिक समुदाय र यहाँ रहेको नेपालीहरुको कार्यक्रमलाई पनि उहाँले सम्बोधन गरे । उनले जापानस्थित नेपाली राजदूतावासको अवलोकनसमेत गरे ।

नेपाल जापानबीच १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले १९६५ मा टोकियोमा र जापानले १९६७ मा काठमाडौँमा आफ्नो दूतावास स्थापना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *