एमालेलाई कमजोर पार्न भइरहेका बाहिरी षड्यन्त्रलाई चिर्न पार्टी भित्री रूपमा बलियो हुनुपर्छः ईश्वर पोखरेल

काठमाडौँ । नेकपा एमालेका काठमाडौँ उपत्यकाका उम्मेदवारहरुले जनताको मत जित्ने एजेण्डाका साथ निर्वाचनमा होमिएको दाबी गरेका छन् ।

बुधबार काठमाडौँ उपत्यकाका उम्मेदवारसँगको संवाद कार्यक्रममा उनीहरुले लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारीका साथ जनताको मत जित्ने एजेण्डासहित निर्वाचनमा होमिएको दाबी गरेका हुन् । कार्यक्रममा एमालेका नेता एवं काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले राष्ट्रिय हित, स्वाभिमान, देशको अखण्डता र स्वतन्त्रमा केन्द्रित भएर छिटै घोषणा पत्र सार्वजनिक गर्ने जानकारी दिए ।

उनले बिगतमा भएका काम र आगामी दिनमा गरिने कामको समयसूचीसहितको घोषणपत्र आउने बताए । सामाजिक सद्भाव राष्ट्रिय एकताको आधार भएकाले यसमा पार्टी केन्द्रित हुने उनको भनाइ छ । पोखरेलले वर्तमान व्यवस्थासँग गाँसिएका केही पक्षमा सुधार आवश्यक रहेको उल्लेख गर्दै संविधान संशोधनमार्फत ती विषयहरूलाई परिमार्जन गर्दै अघि बढ्ने बताए ।

पोखरेलले आगामी निर्वाचनमा एमालेले राम्रो परिणाम ल्याउने विश्वास व्यक्त गर्दै जनतासमक्ष त्यसलाई प्रमाणित गरेर देखाउने दाबी गरे । एमालेलाई कमजोर पार्न विभिन्न प्रकारका षड्यन्त्र हुँदै आएको आरोप लगाउँदै उनले बाहिरी षड्यन्त्रलाई चिर्न पार्टी भित्री रूपमा बलियो हुनुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *