दरखोलामा मोटरेबल पुल निर्माण सुरु

म्याग्दी। म्याग्दीको धवलागिरी गाउँपालिका–२ लमसुङ स्थित दरखोलामा मोटरेबल पुल निर्माण थालिएको छ । पूर्वाधार विकास कार्यालय, म्याग्दीले ठेक्का मार्फत निर्माण थालिएको सो पुल २५ मिटर लामो हुनेछ ।

विस २०८१ भदौ १९ गते पाँच करोड ५९ लाख ३३ हजारमा ठेक्का सम्झौतामा निर्माण कम्पनीले यसै महिनादेखि काम थालेको कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा महेन्द्र बानियाँले जानकारी दिए ।

खोलालाई डाइभर्सन गरेर पुलको पिल्लर राख्ने ठाउँ बनाउन थालिएको हो । ठेक्का सम्झौताको अवधि एकवर्ष पाँच महिना रहेको छ ।

यस ठाउँमा पुल निर्माण भएपछि धवलागिरी गाउँपालिकाको १ र २ नम्बर वडालाई पालिकाको केन्द्र जोड्ने मुना– खोरीया– लमसुङ– लुलाङ– गुर्जा सडकमा बाह्रै महिना नियमित यातायात सञ्चालन गर्न सकिने गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए । हाल बर्खामा दरखोलामा बाढी आएर पानीको सतह बढ्दा सिधा यातायात बन्द हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *