काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चुनावी अभियानमा फर्किने भएका छन् । मंगलबार सामाजिक संजालमार्फत लामिछानेले स्वास्थ्यमा क्रमिक सुधार भइरहेकाले अब आफू चुनावी अभियानमा फर्किन लागेको जानकारी गराएका छन् ।
उनले भनेका छन्, ‘सामान्य ठानेको चोटको नसोचेको संक्रमणका कारण जीवनमा पहिलो पटक अस्पतालमा केही दिन बिताएर केही आरमपछि आजबाट म सार्वजनिक जीवनमा फर्कँदैछु । र यो ऐलान, संकल्प र प्रतिवद्धताका साथ फर्कँदैछु कि देशमा अब जे हुनेछ त्यो घटना हुने छैन, इतिहास हुनेछ । परिवर्तनको यो इतिहास नेपाली जनताले शानदार उत्सवका रुपमा आफ्नै हातले, आफ्नै मतपत्रबाट लेख्नेछन् ।’
उनले प्रतिनिधिसभा ब्युँताउने खेलतिर नलाग्न पनि चेनावती दिएका छन् । उनले भनेका छन्, ‘गिद्धले सिनो लुछेजस्तै लुछिएको यो देश अन्तिम सुनामीको तयारीमा छ। मेरो खुला आग्रह छ— अझै पनि जो–जो मिल्नु छ, मिल। खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर। अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ, हामी मत परिणाम स्वीकार्छौं तर जन विद्रोहले उखेलेर फालेको पुरानो संसद, षडयन्त्रपुर्ण ढंगले फर्काउने कुनै पनि चलखेल,दवाब र धम्की स्वीकार्दैनौं ।’
