-सुवोधराज प्याकुरेल
रैथाने दलको गर्विलो इतिहास छ । लोकतान्त्रिक संघर्ष जनताको नेतृत्व विश्वास र साथको अनुपम साथ ज्युँदै छ। निर्वाचन सिद्धान्त नीति अनुभव र गन्तव्य प्रष्ट पार्ने अनि त्यसको आलोकमा चुनौती समाधान गर्ने अवसर हो । एकथरी नयाँ दिनमा ३–३ जिल्ला हात हल्लाउँदै पर्यटन गर्दैछन्। हजारौँको भीड रमाइलो हेर्न मरिहत्ते गर्दैछ ।
औपचारिक प्रचार दिवस खुल्न बाँकी छ। घोषणापत्र सार्वजनिक भएकै छैन । दण्डहीनता कसैलाई मन पर्दैन । जब सिद्धान्त अनुसारको प्रयासको बारेमा, अनुभव सिद्ध व्यवहारको बारेमा जनता समक्ष दलहरु प्रकट हुन थाल्नेछन् तब यथार्थ स्वतः प्रष्ट हुनेछ । चुनाव राजनीति हो । त्यहाँ राजनीतिक भाषा बोल्नुपर्छ। अर्काको स्थुल बयान गर्नु पर्दैन । आफ्नो विशिष्टता लक्ष्य र कार्ययोजना भित्रै विपक्षलाई पुग्दो जवाफ दिन सकिन्छ।
एउटै कुरा केन्द्रमा राखे पुग्छ, कि विगतको ढाँचा शैली र जनतालाई केन्द्रमा राख्ने प्रकृयामा चुक भएकै हो । संघात्मक देशमा केन्द्रिकृत पार्टी प्रणाली चलेकै हो । विज्ञले शासन गर्ने होइन । उनले विज्ञताको क्षेत्रमा प्राविधिक पक्ष सम्हाल्ने हो । राजनीति समग्रता र समष्टिमा आधारित हुन्छ । एकल क्षेत्रको विशिष्ट ज्ञान हरुलाई समग्र राष्ट्र हितमा परिचालन गर्ने काम हो राजनीति ।
अचेल सुन्दैछु, रैथाने नेताहरु पनि आफूलाई उजिल्याउने भन्दा अरुलाई झम्टिने गर्दै हुनुहुन्छ । जनता भन्दा बढी प्राविधिक सञ्चार केन्द्रित बन्दै हुनुहुन्छ । यसले गर्दा सामान्य नागरिकमा नेता आत्तिएको सञ्चार हुँदैछ । बालेन जस्तालाई अरुको अत्यासले प्रचार थपिदिँदैछ । नबोलिकनै प्रचार । सञ्चारमा आज कति जिल्लाको भ्रमण गरे भन्ने समाचार आउँछ । के बोले के गरे भन्नेकुरा नदारद छ । कृपया राजनीतिलाई राजनीति रहन दिउँ । राजनीतिलाई ठोस राजनीतिक सिद्धान्त नै बनाऔँ । त्यो पारदर्शी होस् । जवाफदेही होस् । र खुलस्त होस्।अनि अर्काको बारेमा होइन आफ्नै बारेमा केन्द्रित होस् ।
