पेरिस जलवायु सम्झौतामा पुनः फर्कियो अमेरिका

अमेरिका औपचारिक रुपमा जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौतामा फर्किएको छ।

तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई औपचारिक रुपमा सम्झौताबाट बाहिर निकालेको १०७ दिनपछि (शुक्रबार) अमेरिका पुनः सो सम्झौतामा फर्किएको हो ।

आफ्नो चुनावी प्रतिवद्धता अनुसार राष्ट्रपति जो बाइडेनले अमेरिकालाई विश्वव्यापी गम्भीर समस्याका रुपमा रहेको जलवायु परिवर्तनको प्रभाव न्यूनिकरण गर्ने सम्बन्धी महत्वपूर्ण सम्झौतामा अमेरिकालाई फर्काएका हुन् ।

ट्रम्प सत्ताको चार वर्ष जलवायु परिवर्तन सम्बन्धी कार्यमा अधिकांश रुपमा निष्क्रिय रहेको अमेरिका अब सो क्षेत्रमा सक्रिय हुने अपेक्षा रहेको विश्वका नेताहरुले बताएका छन् ।

झण्डै महिना दिन पहिले बाइडेनले राष्ट्रपतिको जिम्मेवारी सम्हाले लगत्तै संयुक्त राष्ट्रसंघलाई अमेरिका पेरिस सम्झौतामा फर्किन चाहेको बताएका थिए ।

उनले आफ्नो कार्यकालको पहिलो दिनमै पेरिस सम्झौताबाट अमेरिकालाई बाहिर निकाल्ने आफू पूर्वका राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई उल्ट्याउने कार्यकारी आदेश जारी गरेका थिए ।

ट्रम्प प्रशासनले सन् २०१९ मा अमेरिका पेरिस सम्झौताबाट बाहिरिने घोषणा गरेको थियो । तर यसले सन् २०२० को नोभेम्बर ४ मा औपचारिकता पाएको थियो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले अमेरिका पुनः सम्झौतामा सामेल हुनु अति महत्वपूर्ण रहेको बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *