काठमाडौँ । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने चुनावलाई लक्षित गर्दै केन्द्रीय परिचालन समिति तथा केन्द्रीय सदस्यहरूलाई देशभरका सबै जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने भएको छ ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेले सङ्गठनलाई निर्वाचनमा प्रभावकारी रूपमा परिचालन गर्न केन्द्रीय तहका सबै पदाधिकारी र सदस्यहरूलाई जिल्ला–क्षेत्र स्तरमा खटाउने तयारी गरिएको जानकारी दिएका हुन् ।
उनले निर्वाचनमा प्रभावकारी नतिजा ल्याउन केन्द्रीय तहका सबै पदाधिकारी र सदस्यहरूलाई जिल्ला–क्षेत्रस्तरमा खटाउने बताए । नागरिकले दिने मतले देशको भविष्य निर्धारण गर्ने भएकाले कांग्रेस नै देशको भविष्य हो भन्ने विश्वासका साथ पार्टी चुनावी मैदानमा उत्रिएको उनले बताए ।
प्रवक्ता चालिसेले जनताबाट अनुमोदन प्राप्त गर्ने राजनीतिक संस्था कहिल्यै पुरानो नहुने भन्दै व्यक्तिहरू मात्र समयसँगै पुराना हुने बताए ।
उनले भने, ‘पार्टी पुरानो हुँदैन, विचार नयाँ दिने हो, नेतृत्व नयाँ दिने हो । विश्वभर पुराना पार्टीहरूमा नयाँ नेतृत्व आउने गर्छ, र त्यही प्रक्रियाबाट भरोसायोग्य भविष्य निर्माण हुन्छ।’
प्रवक्ता चालिसेले घोषणापत्रले मुलुकको यथार्थ अवस्थालाई प्रतिबिम्बित गर्दै सुशासन, विकास र व्यवहारिक कार्ययोजनालाई केन्द्रमा राख्ने बताए ।
उनले भने, ‘घोषणापत्रमा कार्यक्रम मात्र होइन, त्यसका लागि स्रोत व्यवस्थापन कसरी गर्ने भन्ने विषय पनि समेटिन्छ । कांग्रेसले गर्न सक्ने क्षमता, व्यवहारिकता र कार्यान्वयन योग्य कार्यक्रम समेटिएको घोषणापत्र ल्याउँछ । यसले सबै वर्ग, क्षेत्र र समुदायको भावना समेट्ने प्रयास गर्नेछ।’
