वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वीरगञ्जबाट एक अर्ब ३६ करोड २९ लाख मूल्य बराबरका ४५६ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् ।
गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षमा सङ्ख्याको आधारमा विद्युतीय सवारीसाधनको आयात ३३२ ले बढेको छ ।
चालु आवको ६ महिनामा विद्युतीय सवारीसाधनको आयातबाट मात्रै ८७ करोड ८४ लाख राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आर्थिक वर्षमा यो नाका हुँदै विद्युतीय सवारीसाधनको आयात बढेसँगै राजस्व सङ्कलन पनि बढेको बताए ।
गत आवको छ महिनामा भने ३० करोड २६ लाख मूल्यका १२४ विद्युत्बाट चल्ने जीप, कार र भ्यान आयात भएको थियो । ती सवारीसाधनको आयातबाट २४ करोड २९ लाख राजस्व सङ्कलन भएको थियो । वीरगञ्ज नाका हुँदै चालु आवको छ महिनामा ९३ करोड मूल्यका इन्धनबाट चल्ने ४३४ जिप, कार र भ्यान आयात भएको छ ।
ती सवारीसाधनको आयात हुँदा दुई अर्ब ५६ करोड राजस्व सङ्कलन भएको छ । गत आवको छ महिनामा भने एक अर्ब १७ करोड मूल्यका ५९२ इन्धनबाट चल्ने जिप कार र भ्यान आयात भएका थिए । गत आवको छ महिनामा ती सवारीसाधनको आयातबाट रू तीन अर्ब नौ करोड राजस्व सङ्कलन भएको थियो ।
