काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले समाजवाद निर्माणको सन्देश दिन आफू रुकुम पूर्वबाट बनेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा रुकुम पूर्वका कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले रुकुमको चुनवाङ बैठकबाट नेपालमा अब गणतन्त्रको विकल्प छैन भन्ने निष्कर्ष निकालेकाले आफू यहीँबाट उम्मेदवार बनेको बताएका हुन् ।
उनले चुनवाङ बैठकले महिला, जनजाति, मधेसी, थारु लगायत उत्पीडित समुदायलाई पहिचानसहित अधिकार दिने उद्घोष गरेको बताए ।
उनले राष्ट्रलाई एकतावद्ध गर्ने, कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाई दिने र देशभर समाजवाद निर्माणको नयाँ सन्देश प्रवाह गर्न रुकुम पूर्व उपयुक्त थलो भएको बताए ।
उनले भने, ‘रुकुम पूर्वको विशेषता के छ भने पूर्वी रुकम नै त्यस्तो जिल्ला हो, जहाँबाट नेपालमा गणतन्त्र अब कसैले रोक्न सक्दैन भनेर निष्कर्ष निकालिएको थियो र त्यो घोषणा गरिएको थियो । त्यो चुनवाङ खाली नेपालमा मात्रै परिचित छैन, त्यसले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको ढोका खोलेको हो, चुनवाङ बैठकले।’
प्रचण्डले आफू तेस्रो पटक प्रधानमन्त्री हुँदा जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गरी औपचारिक तथा कानुनी मान्यता दिएको उल्लेख गरे । उनले त्यसको कार्यान्वयनका लागि विधेयक बने पनि पूर्ण रूपमा लागू हुन बाँकी रहेको बताए । प्रचण्डले जेनजी आन्दोलनपछि देश असाधारण जटिल परिस्थितिबाट गुज्रिरहेको बताए ।
