काठमाडौँ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण बनाउन निर्देशन दिएका छन् ।
उनले निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन आवश्यक सुरक्षा सतर्कता अपनाउन वरिष्ठ अधिकृतहरुलाई निर्देशन दिएका छन् ।
बिहीबार सशस्त्र प्रहरी मुख्यालय हलचोकमा आयोजित ‘निर्वाचन लक्षित वरिष्ठ अधिकृत सम्मेलन’मा महानिरीक्षक अर्यालले निर्वाचन प्रहरीलाई मर्यादित र सभ्य व्यवहार गर्दै परिचालित हुन निर्देशन दिए ।
उनले ‘फिल्ड’मा खटिएका ‘कमाण्डर’ निर्वाचन लक्षित सुरक्षा कारबाही गर्न स्वतन्त्र रहेको बताए । निर्वाचनमा सशस्त्र प्रहरी कर्मचारीले कुनैपनि राजनीतिक दलको पक्ष नलिई उम्मेदवारसँग सम्पर्कमा रहिरहन उनले आदेश दिए ।
सम्मेलनमा निर्वाचन सुरक्षा चुनौती, विद्यमान परिस्थतिलगायत विविध विषय र निर्वाचनका समयमा कुनैपनि मानवीय क्षति हुन नदिनेतर्फ अन्य सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायसँग निरन्तर समन्वय र सहकार्य गर्दै कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
सम्मेलनमा सशस्त्र प्रहरीका सम्पूर्ण बाहिनीपति ‘भर्चुल’ माध्यमबाट सहभागी भएका थिए ।
