प्रहरी चारित्रिक प्रमाणपत्रमा केरमेट र थपघट गरेमा कारबाही हुने

काठमाडौँ । गृह मन्त्रालयले प्रहरी चारित्रिक प्रमाणपत्रमा केरमेट र थपघट गरेमा कारबाही हुने स्पष्ट पारेको छ ।

मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी अपराधसम्बन्धी राष्ट्रिय अभिलेख व्यवस्थापन तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका, २०८० को प्रतिकूल हुने गरी प्रमाणपत्र उपलब्ध गराएको पाइएमा कारबाही हुने जनाएको हो ।

कानुन विपरीत काम कारबाही गरे/गराएमा त्यस्ता कामको विवरण नेपाल प्रहरीद्वारा जारी हुने चारित्रिक प्रमाणपत्रमा समेत उल्लेख हुने भएकाले वैदेशिक अध्ययन, भ्रमण तथा रोजगारीलगायतका कार्यमा जाँदा यसको प्रत्यक्ष प्रभाव पर्ने मन्त्रालयले जनाएको छ ।

त्यस्ता कसूरजन्य कार्यमा संलग्न नहुन, मौजुदा कानुनी व्यवस्था, विधि र प्रक्रियाबमोजिम मात्र काम कारबाही गर्न, गराउन र सोबमोजिम नभएमा भविष्यमा यसको कारणबाट सम्बन्धित व्यक्तिलाई नै प्रतिकूल प्रभाव पर्नसक्ने मन्त्रालयले स्पष्ट पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *