संयुक्त राष्ट्र। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले यमनको ‘होडैदा’ क्षेत्रमा सञ्चालन हुँदै आएको समर्थन मिशन अन्त्य गर्ने निर्णय गरेको छ। उक्त मिशन आगामी २०२६ मार्च ३१ सम्म मात्र कायम रहनेछ।
‘होडैदा मिसन’ भनेको यमनको होडैदा प्रान्त र त्यहाँका मुख्य बन्दरगाहहरूमा सन् २०१८ मा भएको शान्ति सम्झौता कार्यान्वयनमा सहयोग गर्न सन् २०१९ मा स्थापना गरिएको संयुक्त राष्ट्रसंघीय विशेष मिशन हो, जसको मुख्य उद्देश्य युद्धविरामको अनुगमन गर्नु, द्वन्द्वमा संलग्न पक्षहरूबीच विश्वास निर्माण गर्नु र मानवीय सहायता सुरक्षित रूपमा सञ्चालन हुन सहयोग पुर्याउनु हो।
यस निर्णयअनुसार २०२६ अप्रिल १ देखि मिशनको कार्यक्षेत्र र उपस्थिति क्रमशः घटाउँदै अन्त्य प्रक्रिया सुरु गरिनेछ। यसका लागि यमनका सम्बन्धित पक्षहरूसँग परामर्श गरी संक्रमण तथा समापन योजना तयार गर्न संयुक्त राष्ट्र महासचिवलाई अनुरोध गरिएको छ । सुरक्षा परिषदको यस प्रस्तावको पक्षमा १३ देशले समर्थन जनाएका छन् भने चीन र रूस तटस्थ रहेका छन्।
उक्त मिशन सन् २०१९ मा यमनको होडैदा तथा आसपासका बन्दरगाह क्षेत्रमा शान्ति सम्झौता कार्यान्वयनमा सहयोग गर्न स्थापना गरिएको थियो।
