आणविक योजना सार्वजनिक गर्ने किमको सङ्केत

उत्तर कोरिया । उत्तर कोरियाली नेता किम जोङ उनले आगामी सत्तारूढ मजदुर पार्टीको सम्मेलनमा देशको आणविक प्रतिरोध क्षमता अझ सुदृढ पार्ने योजनाहरू सार्वजनिक गरिने बताएका छन् ।

राज्य सञ्चार माध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) का अनुसार मङ्गलबार किमको उपस्थितिमा अपग्रेड गरिएको लार्ज–क्यालिबर मल्टिपल रकेट लन्चर प्रणालीको लाइभ–फायर अभ्यास गरिएको थियो । दक्षिण कोरिया र जापानले यसलाई पहिले ब्यालेस्टिक मिसाइल प्रक्षेपणका रूपमा वर्णन गरेका थिए ।

राज्य सञ्चार माध्यमले सार्वजनिक गरेका तस्बिरहरूमा किम आफ्नी किशोरी छोरीसँगै विशाल लन्च ट्रकको छेउमा हिँडिरहेको देखिन्छ । दक्षिण कोरियाको गुप्तचर सेवाले सन् २०२४ को सुरुतिर किम जु ए नामकी छोरीलाई उनको सम्भावित उत्तराधिकारीका रूपमा प्रस्तुत गर्न थालिएको जनाएको थियो ।

केसिएनएले किम जोङ उनलाई उदृत गर्दै परीक्षण प्रक्षेपण देशको ‘रणनीतिक प्रतिरोध’ क्षमताको प्रभावकारिता बढाउन गरिएको बताएको छ । यस शब्दावली उत्तर कोरियाले आफ्ना आणविक हतियार क्षमताका लागि प्रयोग गर्दै आएको छ । समाचार अनुसार लन्चर प्रणालीको गतिशीलता र प्रहारको शुद्धता दुवैमा सुधार गरिएको छ ।

विज्ञहरूका अनुसार उत्तर कोरियाका ठूला आकारका रकेट लन्चर प्रणालीहरूले परम्परागत आर्टिलरी र ब्यालेस्टिक मिसाइलबीचको सीमा झन् अस्पष्ट बनाएका छन्, किनकि ती प्रणालीहरूले आफ्नै थ्रस्ट उत्पादन गर्न सक्छन् र उडानक्रममै मार्गनिर्देशन गर्न सक्षम छन् । उत्तर कोरियाले यस्ता केही प्रणालीहरू आणविक हतियार बोक्न सक्ने दाबी पनि गरेको छ ।

किमले देशको सैन्य शक्ति निरन्तर मजबुत बनाउनु मजदुर पार्टीको अपरिवर्तनीय दायित्व रहेको बताए । उनले पाँच वर्षपछि पहिलो पटक हुन लागेको आगामी पार्टी सम्मेलन ‘देशको आणविक युद्ध प्रतिरोधलाई अझ सुदृढ पार्ने अर्को चरणका योजनाहरू’ घोषणा गर्ने महत्त्वपूर्ण मञ्च हुने स्पष्ट पारे ।

फेब्रुअरीमा सुरु हुने अपेक्षा गरिएको उक्त सम्मेलन उत्तर कोरियाको सबैभन्दा ठूलो राजनीतिक तथा प्रचारात्मक कार्यक्रम मानिन्छ, जहाँ नयाँ राजनीतिक र आर्थिक प्राथमिकताहरू निर्धारण गरिन्छ । डिसेम्बरयता उत्तर कोरियाले हाइपरसोनिक मिसाइल, लामो दूरीको रणनीतिक क्रूज मिसाइल र नयाँ एन्टी–एयर मिसाइलको परीक्षण गरिसकेको छ । विश्लेषकहरूका अनुसार यी गतिविधिहरू सम्मेलनअघि हतियार विकासका उपलब्धि प्रदर्शन वा समीक्षा गर्ने उद्देश्यले गरिएको हुनसक्छ ।

केसिएनएले आगामी चरणको आणविक विकास योजना कस्तो हुनेछ भन्नेबारे विस्तृत विवरण दिएको छैन । तर विदेशी विश्लेषकहरूका अनुसार उत्तर कोरियाले आफ्ना प्रतिद्वन्द्वीहरूको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई छल्न एउटै क्षेप्यास्त्रमा धेरैवटा वारहेड राख्ने क्षमतामा निपुणता हासिल गर्न खोजिरहेको छ । साथै, अमेरिकी मुख्य भूमिलाई लक्षित लामो दूरीका मिसाइलका वारहेडहरूलाई वायुमण्डलीय पुनःप्रवेशका क्रममा उत्पन्न हुने उच्च ताप र दबाबबाट जोगाउने प्रविधि उसले पूर्ण रूपमा विकास गरिसकेको छ कि छैन भन्ने प्रश्न पनि उठिरहेको छ ।

सन् २०१९ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आणविक कूटनीति विफल भएपछि उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियासँग वार्ता गर्न अस्वीकार गर्दै आएको छ । यद्यपि सीमित आणविक निःशस्त्रीकरणका सर्तमा आर्थिक र राजनीतिक प्रोत्साहन प्रस्ताव गरिएमा किम पुनः वार्तामा फर्कन सक्ने सम्भावना रहेको विज्ञहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *