-सुवोधराज प्याकुरेल ।
अचम्मित छु म । अविकसित गाउँघरमा जाँदा गरिबी अशिक्षा र नेतृत्वविहीनताले ग्रस्त गाउँलेबीच सामूहिक महामारी जस्तो अवस्था छ। महामारी बालेन । केक्रा भोट देबिह ऐ बार ? (कसलाई भोट दिने यसपाली )? प्रश्न झरि नसक्दै जवाफ आउँछ, बालेन ।
बालेन किन ? उनीहरु तत्काल भन्छन्, बालेन, काठमाण्डू बनादेल्कै। (बालेनले काठमाण्डू बनाइदिए)। केना क, केहन(कसरी कस्तो बनाए काठमाण्डू)? सोध्दा थाहा छैन। नयाँ भाष्य व्यापक छ, उनको जनकपुरको मैथिली भाषण, कैला जाइछी काठमाण्डू, प्रदेश राजधानी यतै ह । घुमला जा, कामके लागि नै जाव पडत ( किन जाने काठमाण्डू ? प्रदेश राजधानी यहीँ छ, घुम्न जाउ तर कामको लागि जानु पर्दैन काठमाण्डू)।
काठमाण्डूमा विकास छ, सत्ता छ, र जनताप्रति गरिने हेलाँहोचोको रवाफ छ । त्यसप्रतिको दमित विद्रोहलाई जगाइदिएका छन् बालेनले जम्मा नौ मिनेटको जनकपुरको भाषणले । पाकाहरु अन्यमनस्क छन् । रैथाने दलहरुलाई बल्ल थाहा मिल्दैछ, ठूला नेता आउँदाको तामझाम, मञ्च भाषण, ठूला कुरा र कोठे बैठक अनि आकस्मिक सत्ता साँठगाँठले उनीहरुलाई जनताबाट निकै पर धकेलिदिएको रहेछ । विचारलाई अचार बनाइसकेपछि अहिले त्यसलाई चाट्दै जिब्रो जतिसुकै पड्काए पनि जनतालाई धुलाम्य बाटो, झोपडीको स्वास्थ्य केन्द्र, हाकिमको हप्काई, खण्डहर जस्तो शिक्षाले पुरै निराश बनाइसकेको रहेछ ।
विकास नभएको होइन । तर त्यो विकासको ऐनामा उनीहरुको चित्र जनताले भेटिरहेका छैनन् । हुलाकी राजमार्ग र भित्री भागसम्म पुगेको सडक देखाएर सोध्दा उनीहरु भन्छन्, क्यान कौन ठिकेदार बनाउल्कै, हमरा स कोही पुछले होतै तब न बताबु।(के थाहा कुन ठेकेदारले बनायो, हामीसँग कसैले सोधेको भए पो बताउनु)।
स्थानीय नेतालाई पनि थाहा छैन। निर्वाचित जनप्रतिनिधिलाई सोधेँ, हयो जनता स राय मसबिरा नै लेईछि कि? ( मान्यवर, जनतासँग राय सल्लाह लिनु हुन्न?)।उनीहरु भन्छन्, हमरा कौनो मालुम देतै तब न । हमर काम छै कहुनाक पार्टीके उम्मिदवारके जिताउ । बस्। (हामीलाई थाहा दिए पो, हाम्रो काम हो पार्टीको उम्मेदवारलाई कसैगरी जिताउने, बस्) तर अचम्म के छ भने विकट ठाउँकाहरु पनि विकासको सुशासनको योजनाको कल्पना आफू आफै गरिरहेका छन् । र उनीहरुलाई लाग्छ बालेनले सबैकाम छु मन्तर गरेर सम्पन्न गर्नेछन् ।
