बीबीसी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्वोत्तर खार्किभ क्षेत्रमा एउटा यात्रुवाहक रेलमाथि रुसले गरेको ड्रोन हमलामा चारजना मारिएका बताएका छन् । उनका अनुसार मङ्गलवारको उक्त रुसी हमलापश्चात् अरू थुप्रै व्यक्ति हराइरहेका छन् ।
हमलालाई ‘आतङ्कवादी कार्य’को सङ्ज्ञा दिँदै जेलेन्स्कीले रेलमा यात्रा गरिरहेका सर्वसाधारणलाई मार्ने कार्यको औचित्य पुष्टि गर्न नसकिने बताए । स्थानीय अधिकारीहरूका अनुसार दुईवटा ड्रोन रेलहरूनजिकै बज्रिएका थिए भने तेस्रोले रेलको डिब्बामाथि प्रहार गर्दा आगो लागेको थियो ।
जेलेन्स्कीका अनुसार रेलमा यात्रा गरिरहेका झण्डै दुईसयजना यात्रुहरूमध्ये १८ जना हमलाबाट प्रभावित भएका थिए । आक्रमणबाट रेलको एउटा डिब्बा नराम्ररी क्षतिग्रस्त भएको र बाँकीमा आगोले असर पुर्याएको तस्बिरहरूमा देखिन्छ ।
त्यसअघि रुसले राति गरेको एउटा ड्रोन हमलामा ओडेसाको दक्षिणी भागमा तीनजना व्यक्तिको ज्यान गएको युक्रेनी अधिकारीहरूले बताएका थिए । रुसले अहिलेसम्म त्यसबारे प्रतिक्रिया जनाइसकेको छैन।
मस्कोले युक्रेनका ऊर्जा तथा यातायात पूर्वाधारहरूलाई निशाना बनाई पछिल्ला महिनाहरूमा ड्रोन तथा क्षेप्यास्त्र हमलाहरू तीव्र पारेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि पूर्ण स्तरमा हमला शुरू गरेका हुन् र हाल मस्कोले युक्रेनको करिब २० प्रतिशत भूभागमाथि नियन्त्रण गरेको बताइन्छ।
