स्कटल्याण्डसँग पराजित भएसँगै नेपाल टी-२० विश्वकप छनोटबाट बाहिर

काठमाडौं । नेपाल घरेलु मैदानमा जारी आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोटबाट बाहिरिएको छ । सोमबार दिउँसो सम्पन्न खेलमा स्कटल्याण्डसँग ७२ रनले पराजित हुँदै नेपाल ग्लोबल छनोटबाट बाहिरिएको हो ।

जितको लागि १ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १३.५ ओभरमा ६८ रनमा अलआउट भएको हो । नेपालको लागि विन्दु रावल र रोमा थापाले समान १४/१४ बनाउँदा रुविना क्षेत्रीले १० रन बनाइन् । अन्य ब्याट्सम्यानले दोहोरो अंंक छुन सकेनन् ।

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको स्कटल्याण्डले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ४० रन बनाएको थियो । २.४ ओभरमा १७-३ को स्थितिमा रहेको स्कटल्याण्डका मध्यक्रमका ब्याट्सम्यानले मध्यम प्रदर्शन गर्दै इनिंस उकासेका हुन् । स्कटल्याण्डको लागि प्रियांज चत्तेर्जी सर्वाधिक ४५ रन बनाउँदै नटआउट रहिन् । उनले २८ बलमा ७ चौका प्रहार गरिन् । यस्तै अलिसा लिस्टरले २२, साराह ब्रुसले १८, मेगान म्याकोलले १७ र राचेल स्लाटरले ११ रन बनाइन् ।

नेपालको लागि मनिषा उपाध्यले ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिइन् । रुविना क्षेत्रीले ४ ओभरमा २३ रन दिएर तीन विकेट लिँदा रिया शर्मा, सीता राना मगर र कविता जोशीले समान एक/एक विकेट लिए ।

जितसँगै स्कटल्याण्ड ४ खेलबाट ६ अंक जोड्दै समूह ‘बि’को शीर्ष स्थानमा रहेको छ । समान खेलबाट दुई अङ्क जोडेको नेपालले चौथो स्थानमा रहँदै छनोटको अन्त्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *