बीबीसी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन युद्ध अन्त्यका लागि अमेरिका र रुससँग त्रिपक्षीय वार्ता संयुक्त अरब इमिरेट्समा हुने बताएका छन्। डाभोसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटपछि उनले यस्तो जानकारी दिएका हुन्।
कूटनीतिक गतिविधि तीव्र बन्दै जाँदा ट्रम्पले जेलेन्स्कीसँगको भेट सकारात्मक भएको बताएका छन् । यसैबीच अमेरिकी दूत स्टिभ विट्कफ रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ताका लागि मस्को पुगेका छन्। विट्कफले सम्झौताको सम्भावनाप्रति आशावादी रहेको बताएका छन् ।
जेलेन्स्कीले पूर्वी युक्रेनको भविष्यको हैसियत नै समाधान हुन बाँकी मुख्य मुद्दा रहेको स्पष्ट पारे । ‘सबै कुरा भूभागमै अडिएको छ,’ उनले डाभोसमा पत्रकारहरूसँग भने।
उनका अनुसार योजनाबद्ध वार्तामा रुस, अमेरिका र युक्रेन तीनै पक्ष सहभागी हुनेछन् र सम्झौताका लागि रुस पनि समझदारीमा तयार हुनुपर्नेछ ।
अमेरिकी प्रस्तावअनुसार डोनबास क्षेत्रलाई असैन्यीकरण गरिएको स्वतन्त्र आर्थिक क्षेत्र बनाइने र त्यसको सट्टा कीभलाई सुरक्षा प्रत्याभूति दिइने उल्लेख छ।
जेलेन्स्कीले सम्भावित सम्झौतामा युक्रेनका लागि अमेरिकी सुरक्षा प्रत्याभूतिबारे ट्रम्पसँग सहमति भएको बताए पनि विवरण सार्वजनिक गरेनन्। उनका अनुसार सम्झौता अनुमोदनका लागि अमेरिकी कंग्रेस र युक्रेनी संसदको स्वीकृति आवश्यक हुनेछ।
उनले बेलायत र फ्रान्सको नेतृत्वमा रहेको ‘कोएलिसन अफ द विलिङ’ ले अनुगमनका लागि फौज प्रतिबद्ध गरेको बताए तर अमेरिकी समर्थन बिना सुरक्षा प्रत्याभूति प्रभावकारी नहुनेमा जोड दिए। यसअघि डाभोसमा दिएको सम्बोधनमा उनले रुसविरुद्ध कदम चाल्न युरोपेली सहयोगीहरूमा राजनीतिक इच्छाशक्ति कमी भएको भन्दै आलोचना गरेका थिए।
