-नारायण पौडेल
आन्दोलन, आक्रोश र आगोका बीच प्रधानमन्त्री बनेकी सुशीला कार्कीलाई म्याण्डेट दिइयो– ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने । प्रहरी कार्यालय जलाइएको, सरकारी कार्यालय ध्वस्तप्रायः भएको, प्रधानमन्त्रीकै कार्यालय र निवासबाट मुस्लो छुटिरहेको सन्दर्भमा ६ महिनाभित्र निर्वाचन होला भन्ने सायदै सोचिएको थियो । पूर्वाधारको अभाव छँदै थियो, राजनीतिक जटिलता पनि थपिदै गयो । प्रधानमन्त्रीकै मुखबाट सार्वजनिकरुपमा सुनियो– छाडेर जाउँ, देख्यौ ? जिम्मेवारी पाएर पनि गर्न सकेनन् भन्ने न्यारेटिभ बनाउँछन्, बसौं–बसिसाध्य छैन ।
आफैँले मन्त्री छान्न पाउनु प्रधानमन्त्रीको प्रथम अधिकार हो । तर, मन्त्री बन्न र बनाउन नानाभिरिङ्गी केन्द्र बने । लोकप्रियतावादको आलोकले मन्त्रीमण्डललाई रंगाइयो । गैरराजनीतिक प्रकृतिका लहडीदेखि अपदस्त सरकारी कर्मचारीलाई संवेदनशील मन्त्रालयको जिम्मेवारीसहित मन्त्रीमण्डलमा सहभागी गराइयो । प्रधानमन्त्रीको रोजाइमा परेका गृहमन्त्रीलाई शुरुदेखि जेनजीहरुमार्फत खेदो गर्न लगाइयो ।
भदौरे आन्दोलनकारीका असन्तुष्टि सरकार गठन भइनसक्दै छरपष्ट भैदिए । त्यसमा थपिए– दुर्गा प्रसाईं । जो बसेर पिसाव गर्न सक्दिन, उसैले देश चलाउने भनेर भद्दा मजाक गरियो । राम्रोसँग हिँड्न नसक्ने केपी ओलीसमेत सुशीला कार्कीको कायमाथि टिप्पणी गर्न सुरिए । बाङ्गो औंला खुम्चाउँदै ओली ब्यङ्गबाँण गर्थे– कुप्री पनि जेनजी रे !
बहुरंगी थिए जेनजी । कोही प्रत्यक्ष कार्यकारीको निर्वाचन भन्थे, प्रतिनिधिसभाको निर्वाचन गर्न दिइन्न भन्दै कफन बाँध्थे । कोही तत्काल ओली–लेखकलाई पाता कस्नुपर्ने अड्डी कस्थे, कोही राजै खोज्थे, कोही सर्वपक्षीय सरकार चाहियो भन्थे । ठूला दल कोही देश ठप्प पार्ने भन्थे । कोही विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने महाबहसमा थिए । माहोल यस्तो थियो–संसदीय निर्वाचन मात्र सुशीलालाई चाहिएको हो ।
प्रधानमन्त्री सुशीला कार्की आफैँले आफैँलाई भित्रभित्रै के भन्थिन्, उनैले जानुन् । तर, आफू मातहतका निकाय, जेनजी र दलका प्रतिनितिसमक्ष अडानसहित प्रस्तुत हुन्थिन्– फागुन २१ मा निर्वाचन हरहालतमा हुन्छ । म चुनाव सार्दिनँ । म चुनाव बाहेक अरु केही गर्न सक्दिनँ । सुशीला स्वभावले हक्की र निर्भयी हुन् । दृढनिश्चयी पनि दरिइन् । प्रष्ट पनि सुनिइन् । दुनियाँ निर्वाचनबारे अनिश्चित रहँदा पनि, परिस्थिति झन् झन् प्रतिकुल देखिँदा पनि यि निश्चिन्त सुनिइन्– चुनाव फागुन २१ मै हुन्छ ।
प्रधानमन्त्रीसँग जो थिए ति मध्ये अधिकांश ताक परे तिवारी नत्र गोतामे ठहरिए । जसले नाम प्रस्ताव गर्यो, उसैले अफ्ठारो पार्ने चेतावनी दियो । जसले ढोग गर्यो उसैले सबैभन्दा पहिले मूर्दावादको नारा लगायो । जसले सिफारिस गर्यो, उसैले असंवैधानिक करार गर्यो । जसले दिदी भन्दै आशिष थाप्यो, उसैले छेडखानी गर्यो । यतिसम्म त सुशीलाले पचाएकै थिइन् ।
चुनाव निश्चित नहुञ्जेल चुनावी मन्त्रिपरिषद्को सदस्य बन्न मरिहत्ते गरेकाहरुको जात्रा देख्न सुशीला अभिसप्त भइन् । निर्वाचन निश्चित भएसँगै नागरिक सरकारका सदस्यको सक्कली मक्सद प्रकट हुँदै गयो । युवावयका अधिकांश मन्त्री चुनाव सम्पन्न गर्न होइन, आफ्नो राजनीतिक भविष्य बनाउन लम्किए । सरकारकै प्रवक्ताले घण्टा हल्लाइदिए । कोही जङ्गबहादुरभन्दा जङ्गी निस्केर स्वतन्त्ररुपमा निर्वाचनमा होमिए । आशाको दियो बाल्ने अभिभारा लिएका मन्त्री चिम बोकेर मन्त्रिपरिषदबाट चिलिम भैदिए । जेनजीको प्रतिनिधिको रुपमा रहेका मन्त्रिपरिषद्का कान्छा सदस्य चुनावी सभाको स्कटिङ गर्दै सडकमा प्रकट भए ।
सुशीलासँग यतिबेला आफ्नो भन्नु सायदै कोही छ । सेवक श्रीमान सेवा गर्न नसक्ने गरि थलिएका छन् । पुत्र बेलायततिर ‘बरालिएका’ छन् । माइतीसँग बिद्रोह गरेको वर्षौं भइसक्यो । पदीयरुपमा निकट भएकाहरुको निकटता किन र कोसँग भन्ने भेउ पाइनसक्दै बिदाइ भेट भैसक्छ । वरपर भीडभाड छ तर विश्वासको संकट छ । तरपनि सुशीलालाई दिनरात साथ दिने दुई छन्–आफ्नै मुटु हल्लाउने अदम्य साहस र फोक्सो खाली गराउने गरि निस्कने संगीतमय सुस्केरा । सुशीला, साहस र सुस्केराको लय नखल्बलिएमा निर्वाचन फागुन २१ मै हुनेछ । निर्वाचन भैदिएमात्र पनि अहोभाग्य भन्ने परिस्थितिबाट मुलुक गुज्रिएको छ । सुशीलाको संयम र सावधानी इतिहासमा सम्झनालायक हुँदैछ ।
