काठमाण्डाै । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले अवलम्बन गरेको प्रणालीलाई थप सुदृढ गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु सबैको साझा दायित्व हुन आएको बताएकी छन्।
राष्ट्रिय प्रजातन्त्र दिवस, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय सङ्कल्प हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।
राष्ट्रपतिले प्रजातन्त्र स्थापनाका लागि भएका अनेकाैँ सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जलि अर्पण गरिन् । उनले सहिद परिवार तथा आन्दोलनमा भाग लिने क्रममा बेपत्ता, घाइते एवं अङ्गभङ्ग हुनुभएका व्यक्तित्वप्रति तथा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनमा योगदान गर्ने सबैप्रति सम्मान व्यक्त गरेकी छन् ।
