समावेशिताका आधारभूत मूल्यलाई अझ सुदृढ बनाउन सहयोग पु-याउनेछ : उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले अङ्गिकार गरेको गणतन्त्र, सङ्घीयता, समानता, समावेशिता, धर्मनिरपेक्षता र कानुनी राज्यका आधारभूत मूल्यहरूलाई सोनाम ल्होसार जस्ता पर्वले अझ सुदृढ बनाउन सहयोग पु-याउने विश्वास व्यक्त गरेका छन् ।

नेपालका तामाङ समुदायसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चालगायत आदिवासी जनजातिहरूले उल्लासपूर्वक मनाउने महान पर्व सोनाम ल्होसार २०८२ को अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरूमा शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुका लागि शुभकामना व्यक्त गर्दै उनले सो विश्वास व्यक्त गरेका हुन् । उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरेको हाम्रो देशलाई एकताको सुत्रमा बाँध्दै राष्ट्रिय अखण्डता र सार्वभौमिकतालाई बलियो बनाउने सामथ्र्य नेपाली पर्वहरुमा निहित रहेको उल्लेख गरेका छन् ।

शुभकामना सन्देशामा उनले भनेका छन्, “यस पर्वले नयाँ वर्षको आगमनसँगै हाम्रो मौलिक संस्कृति, परम्परा र जीवनशैलीलाई पुनःस्मरण गराउँदै पुस्तादेखि पुस्तासम्म निरन्तरता दिने अमूल्य अवसर प्रदान गर्दछ, सामूहिकता, भूमिपूजा, कूलपूजा, दानदक्षिणा, ढोगभेट तथा शुभकामना आदानप्रदान जस्ता परम्परागत अभ्यासहरूले सामाजिक सद्भाव, आपसी विश्वास र सहकार्यलाई अझ मजबुत बनाउँछन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *