काठमाडौं । आईसीसी टी-२० महिला विश्वकपको ग्लोबल छनोटमा नेपाल पराजित भएको छ । आइतबार बिहान भएको उद्धाटन खेलमा नेपाल थाइल्याण्डसँग ८ विकेटले पराजित भएको हो ।
जितको लागि १ सय २३ रनको विजयी लक्ष्य पछ्याएको थाइल्याण्डले १६.५ ओभरमा दुई विकेटको क्षतिमा १ सय २५ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । थाइल्याण्डको लागि नाथकान चन्थामले अर्धसतक बनाए । उनले ३९ बलमा ९ चौका र एक छक्काको मद्दतमा ५७ रन बनाए । यस्तै नानपट कोन्चरोएन्कीले ३२, अफिसरा सुवान्चोंराथीले २८ रन बनाए ।
नेपालको लागि सीता राना मगरले ४ ओभरमा २० रन दिएर दुई विकेट लिए ।
यसअघि किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय २२ रन बनाएको थियो । खेलमा राम्रो शुरूवात गरेको नेपाल सोहि लयलाई निरन्तरता दिन नसक्दा सामान्य योगफलमा समेटिएको हो । १३.३ ओभरमा दुई विकेटको क्षतिमा ८७ रन बनाएको नेपालले त्यसपछि लगातार विकेट गुमाएको हो । नेपालको लागि विन्दु रावलले सर्वाधिक ४४ रन बनाइन् । उनले ५६ बलमा ६ चौका प्रहार गरिन् । यस्तै सम्झना खड्काले २६, रुविना चौधरीले १७ र पुजा महतोले १२ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
जितसँगै थाइल्याण्डले दुई अंक जोडेको छ ।
