कसले टिकट पायो भन्ने विषय छोडौँ, यसपाली नपाउनेले अर्कोपटक पाउँछः विष्णु रिमाल

काठमाडौँ । नेकपा एमालेका नेता विष्णु रिमालले कसले टिकट पायो भन्ने विषय छोडेर निर्वाचनमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

ईश्वर पोखरेल पक्षीय नेताहरुलाई टिकटबाट बञ्चित गरिएको भन्दै आलोचना भएपछि आइतबार सामाजिक संजालमार्फत रिमालले यस्तो बताएका हुन् । शनिबार बसेका सचिवालय बैठकले उम्मेदवारको नाम तय गरेको थियो ।

जसमा ईश्वर पोखरेल, उपमहासचिव योगेश भट्टराई, नेता गोकुल बास्कोटा, तारा लामा ठाकुर गैरे, सुरेन्द्र पाण्डेलगायत पोखर पक्षका नेतालाई टिकट दिइएको छैन ।

रिमालले भनेका छन्, ‘आम निर्वाचनमा पार्टीले चुनाव लड्छ। हामी पार्टीका नेता–कार्यकर्ता पार्टीलाई जिताउन दिलोज्यानले सक्रिय हुन्छौँ—कोही उम्मेदवारको रूपमा, कोही परिचालक–प्रचारकको रूपमा। जुनसुकै हैसियतमा सक्रिय भए पनि हाम्रो भूमिका एउटै हो। हामी एक लयमा अघि नबढ्दा न ‘लड्ने’ले जित्छौँ, न त ‘लडाउने’ले नै जस पाउँछौँ । कसले टिकट पायो भन्ने विषय छोडौँ—यसपाली नपाउनेले अर्को पालि पाउँछ। यतिखेर धेरै कुरा मिलाउन बाँकी छन् । हामीमाथिको घेराबन्दी र आक्रमण तीव्र छ। त्यसैले महसुस गरौँ—एकताबद्ध भएर आम निर्वाचनमा हाम्रो पार्टीलाई नम्बर १ पार्टी बनाऔँ।’

उनले एमाले निर्णायक राष्ट्रिय शक्ति नबनेसम्म रूपान्तरण गर्न बाँकी रहेका कामहरू पूर्ण नहुने बताएका छन् । उनले भनेका छन्, ‘जबसम्म एमाले निर्णायक राष्ट्रिय शक्ति बन्दैन, रूपान्तरण गर्न बाँकी रहेका हाम्रा कामहरू पूर्ण हुने छैनन्। नभुलौँ—यो चुनाव ‘जलाउने’ र ‘जोगाउने’, ‘भत्काउने’ र ‘बनाउने’ बीचको जनमत संग्रह पनि हो। हिजो छनोटमा पर्नुभएका एमालेका सबै उम्मेदवारहरूलाई हार्दिक शुभकामना।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *