-रञ्जनकुमार दाहाल
भाद्रमा सरकारको विरोध गर्न सडकमा उत्रिएका २० जना युवाबाट बगेको रगतले अन्ततः कम्तिमा नेपालको एउटा मुख्य पार्टीभित्र परिवर्तनको सम्भावना खोलेको छ । त्यो घटना ‘विदेशीको चाल’ थिएन, बरु दुई खर्बको जरो गाडिएको भ्रष्टाचार नेटवर्कविरुद्ध पहिलो प्रत्यक्ष जनसंघर्षको अभिव्यक्ति थियो भन्ने कुरा धेरैले नमाने पनि एउटा अजिव घटना भने थियो ।
नेपालको राजनीतिक कथामा ‘विदेशी हस्तक्षेप’, ‘राष्ट्रियता संकट’, र ‘राज्य अस्थिरता’ जस्ता शब्दहरू विगतमा दलहरूलाई असजिलो प्रश्नबाट जोगाउने ढालका रूपमा प्रयोग हुँदै आएका छन् । तर यसपटक त्यो पुरानो ‘तुरुपको एक्का’ निष्प्रभावी बन्न थाल्यो । यो परिवर्तनले एउटा महत्वपूर्ण वास्तविकता देखायो, जनता अब भ्रष्टाचारलाई ‘राष्ट्रियताको भाषा’ वा ‘विदेशी हस्तक्षेप’ जस्ता शब्दजाल प्रयोग गरेर लुकाउन दिने तहमा छैनन्।
दुई खर्बको ‘बजार’ भनेको केवल रकम मात्र होइन, ठेक्का प्रणाली, नियामक हेरफेर, पार्टी फाइनान्सिङ, र ठूला ठूला ब्रोकरहरूको नेटवर्कबाट चलेको राज्य–निजी गठबन्धन हो । त्यसलाई जोगाउन पुराना राजनीतिक हतियारहरू (उत्तेजित भाषण, विदेशी हातको दोषारोपण, पार्टी फुटको डर, राष्ट्रियताको कार्ड आदि) सक्रिय गरिए तर अब ती सबै एकैपटक काम गर्न छोड्दैछन्।
अब गगन र नयाँ नेतृत्वमा अघि बढिरहेको नेपाली कांग्रेसको वास्तविक परीक्षा सुरु हुन्छ। जनताले देखिरहेको ‘परिवर्तन’ के केवल पार्टीभित्रको पुस्तान्तरण हो, वा त्यो पुस्तान्तरण संस्थागत सुधार, पारदर्शिता, र भ्रष्टाचारविरुद्ध जिम्मेवारीवादी व्यवहारसम्म पुग्छ? यही निर्णायक प्रश्न हो। भोलिदेखि सभापतिको घरमा बोरा का बोरा पैसा बोकिने संस्कृतिको अन्त्य होस्, यही हो जनताको मूल अपेक्षा र नयाँ नेतृत्वको चुनौती।
निर्वाचन आयोगले मान्यता दिएको गगन र नयाँ नेपाली कांग्रेस टीमलाई सफलताको धेरै–धेरै शुभकामना र अन्त्यमा, यस्तै राजनीतिक परिवर्तन गर्न अन्य प्रमुख राजनीतिक दलहरुले पनि सिक्न सकुन र आफ्नो भविष्य सुनिश्चित गर्न तत्परता देखाउन् ।
