काठमाडौं । धार्मिक एवं पर्यटकीय महत्व बोकेको रसुवाको गोसाईँकुण्डमा आन्तरिक तथा धार्मिक पर्यटकको चहल पहल बढेको छ । गोसाईँकुण्ड जान हेलिकप्टर कम्पनीहरुले चार्टर्ड उडान गर्ने भएकाले पर्यटकहरुको चहलपहल बढेको हो ।
अहिले गोसाईँकुण्ड हेलिकप्टरबाट दैनिक एक हजार भन्दा बढी पर्यटक पुग्ने गरेका छन् भने पैदलयात्रा गरी दैनिक त्यतिकै संख्यामा त्यहाँ पुग्ने गरेका छन् । पर्यटकको चहल पहल बढेपछि होटल व्यवसायी उत्साहित भएका छन् ।
कुण्डमा स्नान गरी गोसाइँबाबा भगवान् शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफूले चिताएको सबै मनोकांक्षा पूरा हुने जनविश्वासका साथ बर्षेनि हजारौैं हजार भक्तजन कुण्डमा स्नान गर्न जाने गर्दछन् ।
पौराणिक कथन अनुसार परापूर्व कालमा देवता र दानव बीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरि विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आई गोसाइबाबा भगवान शिव शंकरले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात् त्रिशूल धाराको उत्पति भई त्रिशूल धाराको पानिबाट गोसाइँकुण्डको उत्पति भएको भन्ने किंमदन्ती रहेको पाइन्छ।
फोटोः यु कार्की ।

