-प्रदीप ज्ञवाली ।
नेपाली काँग्रेसको विशेष महाधिवेशन जारी छ । त्यहाँ चलिरहेका बहस, विमर्श र विवादलाई नजिकबाट नियालिरहेको लोकतान्त्रिक आन्दोलनको सहयात्रीको हैसियतले हाम्रो एउटै कामना छ– मतभेदलाई सुझबुझपूर्ण ढङ्गले समाधान गर्दै नेपाली काँग्रेस अझ एकताबद्ध र सुदृढ बन्न सकोस् । तर कतिपय नेताका अभिव्यक्ति र पेश गरिएका दस्ताबेजमा प्रस्तुत एउटा विषय भने अलि गम्भीर छ । त्यो हो– भदौ २४ गते मुलुकमा भएको विध्वंश र त्रासदीप्रति रहस्यमय मौनता या तुष्टिकरण । सत्य हो– समाजमा असन्तुष्टि थियो । सत्य हो– युवाहरुसँग समाज, सत्ता र संस्थाहरुको दूरी एक हदसम्म बढेको थियो । त्यो असन्तुष्टि भदौ २३ गते पूर्वाह्नमा भद्र प्रदर्शनमा प्रकट भएको थियो । तर अपराह्नपछि त्यो प्रदर्शन न आयोजकहरुले भनेजस्तो शान्तिपूर्ण रह्यो, न उनीहरुको नियन्त्रणमा नै । प्रदर्शनभित्र घुसपैठ गरेर त्यसलाई रक्तपातमा रुपान्तरण गर्ने र युवाहरुलाई मानवढाल बनाउने कृत्यमा सङ्लग्नहरुलाई पनि ’जेनजी आन्दोलनकारी‘ ठान्ने हो र त्यसकै आडमा भोलिपल्ट भएको देश दहनलाई पनि प्रकारान्तरले उचित ठहर्याउने हो भने त्यस अपराधलाई बैधता दिएको ठहर्छ ।
समाजमा असन्तुष्टिहरु हुन्छन् । आज पनि छन् । ४ महिना बित्दानबित्दै कथित नागरिक सरकारप्रति सर्वत्र असन्तुष्टि देखिएको छ– उर्जा व्यापारमा गरिएको घोटालालाई लिएर, घाइतेहरुको उपचारमा गरिएको वेवास्तालाई लिएर, विभिन्न गैरकानुनी काममा सङ्लग्नहरुलाई गरिएको संरक्षणलाई लिएर, मन्त्रीहरुका विवादास्पद निर्णय र अभिव्यक्तिलाई लिएर । स्वयं ‘जेनजी अभियन्ता’ हरु असन्तुष्ट छन् ।
तर यसको अर्थ अब यसै बहानामा पुनः सिंहदरबार जलाउनु उचित ठहरिन्छ ? अराजकता र आन्दोलन एउटै होइनन् । विध्वंश र विद्रोह एउटै होइनन् । आन्दोलन, विद्रोह या क्रान्तिका निश्चित नैतिक मूल्य र सीमाहरु हुन्छन् । नेतृत्वका गल्ती थिए होलान्, भोलि अर्को नेतृत्वबाट पनि गल्ती होलान्, तर त्यस बहानामा भएको लोकतन्त्र, संविधान र राष्ट्रियतामाथिकै आक्रमणलाई पनि जायज ठहर्याउन थालियो भने कहाँ पुगिएला ?
राजनीतिमा साधन र साध्यको सङ्गतिपूर्ण अन्तरसम्बन्ध हुनुपर्छ । गलत साधनबाट सही साध्यमा पुग्न सकिँदैन । विध्वंशका ‘नायक’ हरु त अरुहरु नै छन् । कोही भदौ २४ मै दिग्विजयी मुद्रामा जेलबाट बाहिर निस्केर सिँहदरबार जाँदै थिए, कोही ‘भावी प्रधानमन्त्री’ को पगरी गुथेर त्यही खरानी टेक्दै अगाडि बढ्दैछन् । नेतृत्वका गल्तीको विरोध गर्ने नाममा कम्तीमा नेपाली काँग्रेसका साथीहरु त्यही बाटोमा नहिँडे हुने हो ।
