काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकुल असर पर्ने कुनै निर्णय नगर्न विशेष महाधिवेशन पक्षधरलाई अपील गरेका छन् ।
सोमबार दिउँसो विज्ञप्ति जारी गरी खड्काले एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिबिधि नगर्न र पार्टीमा सम्पूर्ण एकताका साथ अगाडि बढ्न अपील गरेका हुन् ।
उनले कांग्रेस राष्ट्रियता र लोकतन्त्रको धरोहरका रूपमा स्थापित भएको हुँदा हाम्रो काँधमा फेरि एकपटक ऐतिहासिक जिम्मेवारी आएको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसका सबै सदस्यहरू, केन्द्रीय कार्यसमितिका पदाधिकारीहरू, एवं सम्पूर्ण केन्द्रीय सदस्यहरू, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, प्रदेश, जिल्ला, क्षेत्र, पालिका, वडा तहका पदाधिकारीहरू तथा सदस्यहरू, भ्रातृ एवं शुभेच्छुक संस्थाहरू तथा सहयोगी सबै साथीहरू मिली देशको बिषम परिस्थितिका प्रति गम्भीर हुँदै पार्टी भित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरूरी छ । यस अवस्थामा पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिबिधि नगर्न सम्बन्धित सबैमा हार्दिक अपील गर्दै पार्टीमा सम्पूर्ण एकताका साथ अगाडि बढ्न हार्दिक अनुरोध गर्दछु ।’

