सम्मानजनक बहिर्गमन कि अपमानजनक पतन ?

-डा. माधवी भट्ट पराजुली ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवाको भदौ २४ को त्यो दुखान्त परिस्थिति कसरी सिर्जना भयो, कसले के गर्यो भन्ने विषय अहिले उठाइरहनु आवश्यक छैन । तर त्यो भीषण आक्रमणमा परेर वालवाल बाँचेका उनीहरूले अझै नबुझेको एउटा गम्भीर यथार्थ भने आज अत्यन्त महत्वपूर्ण छ। उनीहरूले सम्मानजनक बहिर्गमनको ऐतिहासिक अवसर किन त्याग्दैछन् ? थप तिरस्कारको बाटो किन रोजिरहेका छन् ? अन्तिम राजनीतिक मौका किन आफ्नै हातले गुमाइरहेका छन् ? आक्रमणपछि लामो उपचार सकेर पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुँदा उनीहरूलाई गरिएको स्वागत र सत्कार कुनै औपचारिकता मात्र थिएन। त्यो स्वागत उनीहरू अब पार्टीको सक्रिय राजनीतिबाट बाहिरिँदैछन् भन्ने विश्वासको अभिव्यक्ति थियो।

त्यसै सन्दर्भमा सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक जिम्मेवारी दिँदा जुन व्यापक प्रशंसा पाए, त्यो पनि देउवा अब पुनः सक्रिय राजनीतिमा फर्किँदैनन् भन्ने आम धारणा बनेकाले सम्भव भएको हो। तर उनीहरू सिंगापुर पुगेपछि खेल फेरियो। बहाना उपचारको थियो, तर दुर्भाग्यवश त्यहाँ पुगेपछि उनीहरूले राजनीतिक ‘उपचार’ खोज्न थाले। स्वदेशी–विदेशी शक्ति केन्द्रहरूसँगको सम्पर्क र संवादले उनीहरूलाई फेरि सक्रिय बन्न उक्सायो । नेपाल फर्किएपछि देउवा पार्टी कार्यालयका दैनिक गतिविधिमा प्रत्यक्ष संलग्न नभए पनि राष्ट्रिय राजनीतिमा भने निरन्तर उपस्थित र सक्रिय देखिन थाले ।

सबैभन्दा चिन्ताजनक पक्ष के हो भने, अब देउवा मात्र होइन, आरजु देउवा पनि राष्ट्रिय राजनीतिमा अग्रसर हुन थालिन् । उनले एउटा गम्भीर यथार्थ बिर्सिइन्—देउवाको अशक्तताको फाइदा उठाएर ‘नायवी शासन’ चलाएको र त्यस क्रममा ‘भ्रष्टाचार’ समेत गरेको भन्ने आरोप आमजनता र काँग्रेसकै नेता–कार्यकर्तामाझ व्यापक रूपमा विद्यमान छ । यदि देउवा कहिलेकाहीँ उच्चस्तरीय बैठकमा मात्र देखिएका भए सायद यति गम्भीर चिन्ता हुने थिएन। तर आरजु देउवा पनि पुरानै शैलीमा देउवालाई नियन्त्रणमा राखेर काँग्रेस हाँक्ने प्रयत्नमा लागेपछि, उनीहरूको राजनीतिक जीवन सम्मानजनक बहिर्गमनको सट्टा अपमानजनक निष्कासनतर्फ धकेलिन थालेको छ । अझै समय बाँकी छ । सोच्ने बेला यही हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *