म्याग्दी । दुईतिर अग्ला भिरको फेदीमा रहेको म्याग्दीको मालिका गाउँपालिका–६ मा पर्ने साँवताको किनारमा म्याग्दी नदी बग्छ । बर्खायाममा साँवतावासी भिरबाट खस्ने पहिरो र किनारको म्याग्दी नदीमा आउने बाढीको चपेटामा पर्दै आएका छन् ।
“दिच्याम र देविस्थानको भिरबाट पहिरो खसेर अन्यत्र जाने बाटो नहुँदा पछिल्लो केही वर्षयता बर्खामा बारीमा थुम्कोमा बसेर रात कटाएका थियौँ”, साँवताकी जसीकला पुनले भनिन्, “साँवताबाट छिमेकी गाउँ थापाचौर जोड्ने झोलुङ्गे पुल बनेपछि अघिपछि आवतजावत गर्न सहज हुनुका साथै बर्खामा बाढी पहिरोको चपेटामा पर्दा भागेर ज्यान बचाउन सकिने भयो भनेर ढुक्क भएका छौँ ।”
तेह्र परिवारको बसोबास रहेको साँवताका बासिन्दाको एक दशकदेखिको सपना मालिका–५ थापाचौर र वडा नं ६ को साँवता बस्ती जोड्ने म्याग्दी नदीमाथि झोलुुङ्गे पुुल निर्माण भएपछि पूरा भएको हो । खानेपानी, विद्युत् र सडक सुविधा पुगिसकेको साँवतावासीको मुख्य माग झोलुङ्गे पुल थियो ।
पूर्वाधार विकास कार्यालयले थापाचौर र साँवता जोड्ने म्याग्दी नदीमाथि ९६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । स्थानीयवासी लबहादुर पुनले विसं २०७२ देखि गर्दै आएको झोलुङ्गे पुलको माग पूरा भएकामा खुसी व्यक्त गरे ।
“हाम्रो सानो बस्तीमा प्रदेशका जनप्रतिनिधिको नजर परेपछि बल्ल झोलुङ्गे पुल निर्माण भयो”, उनले भने, “दरबाङ–दिच्याम सडकबाट खस्ने पहिरोले सडक र पैदलमार्ग बन्द गराउँदा प्राकृतिक नाकाबन्दीमा बस्नुपर्ने साँवतावासीको समस्या पुल बनेपछि हटेको छ ।”
स्थानीयवासी राजु परियारले बालबच्चा विद्यालय जान, आउन, बिरामीलाई स्वास्थ्य संस्था लैजान, विवाह, मलामी जान पुलले सहज बनाएको बताए । दरबाङ बजारमा किनमेलका लागि जान आउन पनि सहज भएको उनको भनाइ छ ।
साँवताबाट दरबाङ बजार हुँदै घुमाउरो बाटो हिँडेर खोलापारी रहेको थापाचौर पुग्न २० देखि २५ मिनेट लाग्ने गरेकामा यात्रा अवधी तीन मिनेटमा छोटिएको परियारले बताए । यो पुलबाट मालिका गाउँपालिका–६ दरबाङ, वडा नं ५ थापाचौर–७ बिम र धवलागिरि गाउँपालिकाका बासिन्दा लाभान्वित भएका छन् ।
पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दी र ठेकेदार कम्पनी सोमरस निर्माण सेवासँग गत असारमा रु ३९ लाखमा २०८२ असार ३ गते ठेक्का सम्झौता भएको थियो । विसं २०८३ असारसम्म ठेक्काको म्याद भए पनि लक्ष्यभन्दा छ महिनाअघि सम्पन्न भएको कार्यालयले जनाएको छ ।
आज पुलको स्थलगत अनुगमनमा पुग्नुभएका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीसँग स्थानीयले एक दशकदेखिको सपना पूरा भएको बताउँदै सुरु गरेको कम समयमा ै पुल सम्पन्न भएकामा खुसी व्यक्त गर्दै धन्यवाद दिएका थिए ।
