नेपाललाई ‘युक्रेन’ बनाइँदैछः झलनाथ खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुक बहुआयामिक संकटबाट गुज्रिरहेको बताएका छन् ।

अंग्रेजी नयाँवर्ष सन् २०२६ को उपलक्ष्यमा शुभकामना सन्देश जारी गरी खनालले देश बहुआयामिक संकटबाट गुज्रिरहेको तथा अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरू र देश भित्रका उनीहरूका दलालहरू नेपाललाई ‘युक्रेन’ बनाउन योजनाबद्ध ढंगले लागेको बताएका हुन् ।

उनले भनेका छन्, ‘हामी सबैलाई थाहा छ आज देश बहुआयामिक संकटबाट गुज्रिरहेको छ । अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरू र देश भित्रका उनीहरूका दलालहरू नेपाललाई ‘युक्रेन’ बनाउन योजनाबद्ध ढंगले लागेका छन् । उनीहरू नेपाली जनतालाई सबै नेताका विरुद्ध, नेपाली समाजलाई परिवर्तन गर्दै आइरहेका पार्टीहरूको विरुद्ध, देशका विरुद्ध र समाजवादका विरुद्ध विदेशी पैसा र प्रलोभनका आधारमा दुष्प्रचार गरिरहेका छन् र मुलुकलाई हिंसा र विध्वंसतिर लान खोज्दैछन् ।’

खनालले यही विश्व ऐतिहासिक प्रक्रियाको अभिन्न अङ्गका रूपमा हाम्रो प्रिय मातृभूमि नेपालको राष्ट्रिय परिस्थिति पनि विकास गर्दै आइरहेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘नेपाली जनताले वर्षौंदेखि भोग्दै आएको दिशाहिनता, अविकास, कुशासन, भ्रष्टाचार, बेरोजगारी र युवाहरूको बहिर्गमनले देशको सामाजिक–आर्थिक संकट निरन्तर गहिरिँदै गइरहेको छ । त्यही क्रममा ‘जेनजी आन्दोलन’का नाममा देशी विदेशी प्रतिक्रियावादीहरूले विगत भदौ २४ गते देशव्यापी रुपमा गरेको तोडफोड, आगजानी, लुटपाट र महाविध्वंसले सिंगो मुलुक नै महासंकटको अवस्थामा पुगेको छ । यो महासंकटबाट नयाँ निर्वाचन मार्फत निकासतिर लाने ठूलो चुनौतीको सामना गर्दै गर्दा हामी इ.सम्बतको नयाँ वर्ष २०२६ मा प्रवेश गरेका छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *