शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की

वाशिङ्टन। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कम्तीमा ६० दिनको युद्धविराममा सहमति जनाएमा युक्रेन सङ्कट अन्त्यका लागि तयार गरिएको शान्ति योजनालाई जनमतसंग्रहमा लैजान आफू तयार रहेको बताएका छन् । अमेरिकी सञ्चारमाध्यम एक्सियोसका अनुसार राष्ट्रपति जेलेन्स्कीले शुक्रबार दिएको अन्तर्वार्तामा यस्तो धारणा व्यक्त गरे ।

उनले शान्ति प्रक्रियाका क्रममा क्षेत्रीय विषयमा युक्रेनका लागि अझ राम्रो सहमति हासिल गर्ने प्रयास जारी रहने बताए । तर यदि प्रस्तावित शान्ति योजनामा अत्यन्तै कठिन र संवेदनशील निर्णय लिनुपर्ने अवस्था आयो भने २० बुँदे सम्पूर्ण योजनालाई जनमतसङ्ग्रहमार्फत युक्रेनी जनताकै निर्णयमा सुम्पिनु सबैभन्दा उपयुक्त उपाय हुने उनले बताए ।

राष्ट्रपति जेलेन्स्कीका अनुसार जनमतसंग्रह आयोजना गर्नु राजनीतिक, प्रशासनिक र सुरक्षा दृष्टिले निकै जटिल प्रक्रिया भएकाले त्यसका लागि कम्तीमा ६० दिनको युद्धविराम आवश्यक हुन्छ । उनले मतदानको तयारी, मतदाताको सुरक्षा र निष्पक्ष प्रक्रिया सुनिश्चित गर्न यही अवधि न्यूनतम आवश्यकता भएको स्पष्ट पारे ।

रिपोर्टअनुसार एक वरिष्ठ अमेरिकी अधिकारीले रूसले जनमतसङ्ग्रहका लागि युद्धविराम आवश्यक पर्ने कुरा बुझेको भए पनि उनले अझ छोटो अवधिको युद्धविराम चाहेको सङ्केत दिएको बताए ।

जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने भेटमा युक्रेन सङ्कट अन्त्यका लागि साझा रूपरेखामा सहमति हुने आशा व्यक्त गरे । उनले अमेरिका–युक्रेनबिच भएका अधिकांश द्विपक्षीय सहमतिहरू हाल पाँचवटा दस्तावेजमा समेटिइसकेको र आवश्यक परे थप एउटा दस्तावेज समावेश गर्न सकिने जानकारी पनि दिए ।

युद्धपछिको सुरक्षा प्रत्याभूतिको अवधिबारे अमेरिकी प्रशासनले १५ वर्षको प्रस्ताव गरे पनि जेलेन्स्कीले त्यो अवधि पर्याप्त नहुने धारणा व्यक्त गरेका छन् । उनका अनुसार युक्रेनलाई दीर्घकालीन र भरपर्दो सुरक्षा प्रत्याभूति आवश्यक छ, र यससम्बन्धी सम्झौता अमेरिका र युक्रेन दुवै देशका संसदबाट अनुमोदन गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *