मितेरी पुल निर्माण सम्पन्न भएसँगै केरुङ नाका पुनः संचालन हुने, दैनिक ७० सवारीसाधनलाई अनुमति

रसुवा । गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले नेपाल चीन जोड्ने मितेरी पुल बगाएका कारण महिनौंदेखि अवरुद्ध रहँदै आएको केरुङ नाका पुनः सञ्चालनमा आउने भएकाे छ ।

ल्हेन्दे खोलामा चीनले बेलिब्रिज निर्माण गरेपछि आगामी जनवरी १ तारिख बिहीबारदेखि सीमामा एकतर्फी आवागमन सुरु गरिएको हो । पुलले ४९ टनसम्मको भार मात्र थेग्न सक्ने भएकाले, सो क्षमताभन्दा बढी तौल भएका सवारीसाधनलाई नाकाबाट सञ्चालन अनुमति नदिएको चिनियाँ पक्षले जानकारी दिएको छ ।

पुलबाट आवतजावत गर्न सवारीसाधनको चौडाइ २.५५ मिटर र उचाइ ४.५ मिटरभन्दा बढी हुनु नहुने व्यवस्था लागू गरिएको छ । पुलमा जानुअघि मालबाहक सवारीले बाङसिङ लजिस्टिक्स पार्कमा स्वचालित तौल ब्रिजमार्फत तौल नापी ‘४९ टन प्रमाण–पर्ची’ लिनुपर्नेछ। उक्त पर्ची बिना सवारीलाई सीमा–शुल्क प्रक्रियामा अघि बढ्न नदिइने जनाइएको छ ।

प्रारम्भिक चरणमा नाकाबाट दैनिक ४० वटा मालबाहक ट्रक तथा केही विद्युतीय सवारीसाधन आवतजावत गर्न दिइनेछ । आगमनतर्फ सामान लोड र कागजी प्रक्रिया पूर्ण भएपछि सवारीहरू पार्कमै लाइनबद्ध भई बिहान ११ बजे सामूहिक रूपमा प्रस्थान गर्ने व्यवस्था गरिएको छ ।

यता, प्रवेशतर्फ दैनिक ३० वटा मालबाहक सवारी प्रवेश गराइनेछ । प्रवेश प्रक्रिया पूरा गरेका सवारीसाधनले सुरक्षित रूपमा लजिस्टिक्स पार्कसम्म अघि बढेर तोकिएको स्थानमा पार्किङ गर्नुपर्नेछ।

अस्थायी पुलमा एकतर्फी यातायात मात्र सम्भव भएकाले आवागमन पालो–पालो सञ्चालन गरिने चिनियाँ सीमा निकायको भनाइ छ । यसले व्यापारिक चाप कम गर्दै सुरक्षित र व्यवस्थित ढुवानी पुनःस्थापना गर्ने उद्देश्य राखेको बताइएको छ।

केरुङ सीमा व्यापार संघले सबै वैदेशिक व्यापार कम्पनीलाई निर्देशनहरूको कडाइका साथ पालना गर्न, ढुवानी योजना उचित रूपमा संयोजन गर्न तथा नाकाको सुरक्षित व्यापारिक वातावरण बनाउन सहकार्य गर्न आग्रह गरेको छ ।

गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले पुल बगाएपछि दुई देशबीचको आवतजावत बन्द भएको थियो । आवागमन बन्द भएपछि चिनियाँ पक्षले पुल निर्माण गरेको हो ।

मितेरी पुल बगाएसँगै सो नाकाबाट हुने आयात–निर्यात ठप्प हुँदा नेपाललाई अर्बौँ राजश्व घाटा भएको थियो । बाढीले पुल बगाएपछि नेपाल सरकारले चीन सरकारलाई पुल निर्माणका लागि आग्रह गरेको थियो । नेपालको आग्रहपछि चिनियाँ पक्षले प्रतिकूल मौसमका बाबजुद मितेरी पुल निर्माणलाई प्राथमिकता दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *