राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप उपाधि कालिकालाई

कास्की । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको १६औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौँ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको उपाधि कालिका माध्यमिक विद्यालयले जितेको छ ।

यही पुस ९ गतेदेखि सुरु भएको प्रतियोगिताको शुक्रबार भएको फाइनलमा पोखरा–१४ रामबजारमा अवस्थित कालिकाले आठ स्वर्ण, छ रजत र तीन कास्यसहित कुल १७ पदक जित्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो ।

त्यसैगरी, सहिद स्मृति माविले छ स्वर्ण, पाँच रजत र चार कास्य कुल १५ पदक जित्दै उपविजेता बन्यो । तृतीय बनेको सैनिक आवासीय माविले पाँच स्वर्ण, एक रजत र आठ कास्य गरेर कुल १४ पदक हात पारेको छ ।

प्रतियोगितामा कुल चार सय चार पदकका लागि पोखरा महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका तीन हजारभन्दा बढी विद्यार्थीले प्रतिष्पर्धा गरेको समितिका अध्यक्ष दीपक गोदारले जानकारी दिए । प्रतियोगितामा उसु, कराते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरी छवटा विधा समावेश गरिएको थियो ।

कबड्डीतर्फ छात्रामा रामेश्वरी माविले स्वर्ण, सहिद स्मृति आवासीय माविले रजत र प्रतिभा मावि तथा कालिका माविले कास्य पदक जिते । छात्रतर्फ कालिका माविले स्वर्ण, प्रतिभा माविले रजत र गौरीशङ्कर मावि तथा भवानी कालिका माविले कास्य पदक प्राप्त गरे ।

कवड्डीमा प्रथम हुने टिमले ३० हजार, द्वितीय हुनेले २० हजार र तृतीय हुने दुवै टिमले १२ हजारका दरले नगदसहित ट्रफी मेडल र प्रमाणपत्र हात पारे । भलिबल छात्रातर्फ शान्ता माविलाई स्वर्ण, कालिका माविलाई रजत र टप्स बोडिङ स्कुललाई कास्य पदक प्राप्त भयो ।

छात्रतर्फ पोखरा युनाइटेड एकेडेमीलाई स्वर्ण, प्रतिभा माविलाई रजत र गुरुकुल विद्यासदनलाई कास्य पदक हात पर्यो । भलिबलमा प्रथमले ३० हजार, द्वितीयले २० हजार र तृतीयले १२ हजारसहित पदक र प्रमाणपत्र प्राप्त गरे ।

एथलेक्टिस छात्रतर्फ कालिका मावि प्रथम भयो, कास्की मोडर्नाइज्ड एकेडेमी द्वितीय र हार्वड एकेडेमी तृतीय भए । छात्रातर्फ छोरेपाटन मावि प्रथम, सगरमाथा मावि द्वितीय र फिस्टेल एकेडेमी तृतीय भए । एथलेटिक्स तर्फ ८४ विद्यालयका छ सय ६५ छात्रछात्रा सहभागी भएका थिए ।

करातेतर्फ ४१ विद्यालयका छात्रतर्फ ६० र छात्रातर्फ ७१ खेलाडीले प्रतिष्पर्धा गरेका थिए । यो विधामार्फत १२ स्वर्ण, १२ रजत र २४ कास्य गरेर कुल ४८ पदक वितरण गरिएको थियो ।

मार्चपासतर्फ रत्नज्योति मावि प्रथम भयो । कान्तिपुर एकेडेमी द्वितीय, हार्वड स्कुल तृतीय र युनिभर्स बोडिङ स्कुल सान्त्वना भए । मार्च पासमा ४० विद्यालयले सहभागिता जनाएका थिए । मार्चपासमा प्रथम टिमले २० हजार, द्वितीयले १५ हजार तृतीयले १० हजार र सान्त्वना टिमले पाँच हजार प्राप्त गरे ।

विजेता खेलाडीलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, प्रमुख प्रकाशकीय अधिकृत मुक्तिराम अर्याल, पोखरा महानगर पालिका खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदार, शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यलगायतले पुरस्कार वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *