-नारायण गाउँले ।
जेनजी आन्दोलनअघिसम्म बालेनको लोकप्रियता शिखरमा थियो । मेयर त उनी काठमाडौँका थिए तर जुम्लाको स्कुले बच्चाले समेत नेता भन्नेबित्तिकै बालेनको नाम लिन्थ्यो । धेरैलाई उनी सोसल मिडियाका मात्रै हिरो भन्ने लाग्दो हो तर कलिलो पुस्ताका धेरैको दिमागमा उनको नाम लेखिएको थियो । जेनजी आन्दोलन हिंसात्मक र विध्वंशात्मक बन्यो । यद्यपि खास आन्दोलन अघिल्लो दिनको थियो, जसमा केही जलेको थिएन । त्यो दिन धेरै कलिला युवा मारिएपछि भोलिपल्ट स्वाभाविक आक्रोश थपियो । त्यसमा रोटी सेक्ने स्वार्थसमूह थपिए र त्यो आन्दोलन जेनजीको सर्कलबाहिर पुग्यो । त्यसपछि कुन स्तरको राष्ट्रिय क्षति भयो भन्ने त जगजाहेर नै छ । आगो झोस्दै गरेका भिडियो हेर्नुभयो भने त्यहाँ जेनजीभन्दा बढी दलहरूकै नेता–कार्यकर्ताको अनुहार देख्न सकिन्छ । जेनजी आन्दोलनलाई त्यति ठूलो बनाउन बालेनको फेसबुक पोस्टले ठूलो योगदान गरेको थियो । त्यसैले यसका उपलब्धि र विध्वंश दुबैको भागीदार उनी पनि हुन् ।
त्यो आन्दोलनले सत्ता बढार्यो । जेनजीसँग न नेतृत्व थियो न स्पष्ट रोडम्याप । बालेन स्वाभाविक रूपले पहिलो रोजाइ थिए । शायद त्यो उनका लागि सबैभन्दा ठूलो अवसर पनि थियो । तर उनले त्यो स्थितिको उचित मूल्याङ्कन गर्न र हिम्मत देखाउन सकेनन् । नेतृत्वको परीक्षा त्यस्तै सङ्कटमा हुन्छ । झट्ट हेर्दा अब दलहरू सकिएजस्तो देखिन्थ्यो, त्यसैले चुनावबाट बलियो प्रधानमन्त्री बन्न सकिन्छ भन्ने लोभ लाग्यो होला । अन्तरिम प्रधानमन्त्रीमा स्वाभाविक रूपले रुचि जागेन पनि होला । त्यो दिनसम्म बालेनले पार्टी खोलेर राजनीतिमा उत्रिने निर्णय गरेको भए आज रास्वपामा जाने धेरैजसो युवामत त्यतै सोझिने थियो । यही बुझेर सुमनाजीले कित्ता परिवर्तन गरेको हुनसक्छ ।
त्यसपछि स्थिति बदलियो । भाष्य बदलियो । देशभरि दलकै कार्यकर्ताले लगाएको आगोको जिम्मा उनकै टाउकोमा थोपर्ने काम भयो । लुसिफर भन्ने शब्द हिट भयो । हिजो उनले कडा आक्षेप र गाली गरेका दलले उनको छवि धमिल्याउन कुनै कसर बाँकी राखेनन् । देशभर जेल तोड्नेदेखि सिंहदरबार र अदालतसम्म जलाउने विध्वंशको जिम्मा कसैले लिएन, उनीमाथि नै थोपरेर अरू चोखा देखिए । न अघिल्लो दिन अत्यधिक क्रूर दमन गरेर स्थिति भड्काउने सरकारले नैतिक जिम्मा लियो न आन्दोलनको नेतृत्व गर्ने जेनजीले त्यसमा उत्तरदायित्व प्रस्तुत गरे । यसमा धेरथोर बालेनकै जलाउने र ढलाउनेजस्ता उत्तेजक, अमर्यादित र आक्रामक अभिव्यक्तिहरू पनि जिम्मेबार छन् । फलतः सबै दोष बालेनमाथि लाग्यो, जसको सटीक प्रतिकार गर्न बालेनले सकेनन् या भ्याएनन् । मौनता पारिवारिक मुद्दामा फलदायी हुनसक्छ तर राजनीतिमा आफ्नो पक्ष खुलेर राख्न पर्छ ।
आज सोसल मिडियामा उनको रेटिङ निकै खस्किएको छ । भुइँमा के छ भन्ने त चुनाबले नै देखाउला । सघन संवाद गर्न नसक्ने, मिडिया फेस गर्न नसक्ने र आफ्ना योजना र कार्यक्रमबारे अन्तरसंवाद गर्न नसक्ने कमजोरी बालेनमा देखिन्छ । त्यो रणनीति अन्तर्गत हुन पनि सक्ला तर कोठाबाहिर संवाद नै नगर्ने हो भने त्यसले काम गर्दैन ।
सहकारी प्रकरणमा नजोडिएको भए रवि लामिछाने यही चुनावबाट प्रधानमन्त्री बन्न सक्ने स्थिति देखियो । एउटा दल खुलेको चारपाँच वर्ष नपुग्दैको यो स्तरको सफलता निकै ठूलो हो । आज रास्वपा कुनै पनि दलका लागि ठूलो चुनौती नै छ । रवि लामिछानेका आलोचक बढेका छन्, तर समर्थक पनि बढेकै छन् । दलको विकल्पमा खस्ने ठूलो मत रास्वपालाई नै जाने पक्का छ । जेनजी आन्दोलनमा जेलकाण्डपछि ड्यामेज धेरै हदसम्म कन्ट्रोल भइसकेको छ । चुनावको मुखमा रवि धरौटीमा बाहिर आउन पाउनु रास्वपाका लागि ठूलो विजय हो । मन पर्नु नपर्नु अलग कुरो हो, तर काठमाडौँमात्रै होइन, रवि लामिछाने देशको सबैजसो ठाउँबाट चुनाब जित्न सक्ने गरी लोकप्रिय छन्, दललाई जिताउन सक्छन् कि सक्दैनन् भन्ने पनि छिटै देखिनेछ ।
कुलमान घिसिङ्को समर्थनमा लेख्दै आए पनि मलाई उहाँले एकल दलको नेतृत्व गरेर प्रत्यक्षमा कुनै सिट जित्नुहुन्छ जस्तो लाग्दैन । लोकप्रियता त छ तर विवाद र काण्ड पनि उत्तिकै छन् । मुख्य कुरो दलबाट विरक्त जुन भोट ब्याङ्क छ त्यसकै आधारमा जित्ने हो । त्यो ब्याङ्क घण्टी छोडेर अन्त जानेमा ठूलो शङ्का छ । उहाँमा देखिएको प्रतिशोध र अधीरताको गन्धले पनि थोरै नोक्सान गरेको छ । तर बोलीमा संयम र कसैलाई नबिझाउने शैली उहाँको बलियो पक्ष हो ।
यी तीन जना नै एक्लै लड्ने हो भने सबैभन्दा कम क्षति रास्वपालाई नै हुने हो । उसको बलियो सङ्गठन छ, स्थापित चुनाब चिन्ह छ र मोमेन्टम छ । वैकल्पिक भनिएका भोट रणनीतिक रूपले पनि अलि बलियो पार्टीलाई नै जाने हो, जुन रास्वपा नै हो । सबैभन्दा बलियो, ठूलो र नयाँमध्ये पुरानो भएकाले अलिकति लचिलो भएर वैकल्पिक शक्तिलाई जोड्ने जिम्मा पनि रास्वपाकै हो ।
बहुमत आइहाल्ने र प्रधानमन्त्री पद सुनिश्चित भएजस्तै गरी भागबन्डा र लेनदेनमा लागेको दृश्यले अलिकति भोट काटिसकेको छ । बालेन नबोलेर र रवि लामिछाने बढी नै बोलेर पनि अबको मत प्रभावित हुन सक्छ ।
आफूमाथि त्यति धेरै अदालतमा विचाराधीन रहेको मुद्दा किनारा नलागुन्जेल रवि लामिछाने प्रधानमन्त्री बन्ने स्थिति देखिन्न । तसर्थ बालेनलाई तत्कालका लागि प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेर जाँदा पनि खास समस्या नहोला । प्रधानमन्त्रीको पद निश्चित पद होइन ।
परम्परागत दललाई ठोस चुनौती नै दिने हो भने मिल्नु आवश्यक छ । हाम्रो व्यवस्था गणितको हो । अन्तिममा चाहिने अङ्क नै हो । त्यसले अन्य दललाई पनि मिल्न बाध्य बनाउला । आखिर जित्नु नै सबैभन्दा ठूलो एजेन्डाका रूपमा स्थापित गर्न नयाँ दल नै लागेपछि पुरानालाई बहाना पनि मिल्ने भयो । तैपनि, मिल्ने सत्ता र शक्तिका लागि कि परिवर्तनका लागि भन्ने बहस सँगै नलैजाने हो भने र स्पष्ट आर्थिक–राजनीतिक रोडम्याप अघि नसार्ने हो भने त्यही भोटब्याङ्क यताउता हुने मात्रै हो । नयाँ मत आकर्षण गर्ने हो भने मुद्दामा मिहिनेत गर्न ढिलो हुँदैछ ।
