‘क्यासिनो इभेन्ट’ का नाममा तासमा चिप्स र आँखामा लेन्स प्रयोग गरी करोडौँ ठगी

काठमाडौँ । काठमाडौँको ठमेलस्थित एक होटलमा ‘क्यासिनो इभेन्ट’ को नाममा जुवा खेलाएर ठगी धन्दा सञ्चालन गरेको पाइएको छ ।

ठमेलस्थित अलफ्ट होटल परिसरमा सञ्चालित वाल्डो डाइनेष्टी इन्टरटेनमेन्ट प्रालिमा ‘क्यासिनो इभेन्ट’ को नाममा जुवा खेलाएर एउटा भारतीय समूहले ठगी धन्दा सञ्चालन गरेको फेला परेको हो । बुधबार जिल्ला प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराएको हो ।

ठगीमा संलग्न महाकाय समूहका सुरेश महाजनसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिकहरू सुरेश महाजन, ३९ वर्षीय प्रमोद मोरिया, ३१ वर्षीय बिक्रम सिंह, ३७ वर्षीय दिनेश वर्मा, नेपाली नागरिकहरू ४० वर्षीया भवानी पाण्डे र सुनसरीकी ३६ वर्षीया चिजा खड्का छन् ।

उनीहरुले तासमा चिप्स र आँखामा लेन्स प्रयोग गरेर अन्य खेलाडीहरूलाई हराएर ठग्ने गरेको पाइएको परिसरका एसपी पवन भट्टराईले जानकारी दिए ।

उनीहरुले प्रयोग गर्ने तासमा पहिले नै चिप्स जडान गर्ने र त्यसको कनेक्सन आँखामा प्रयोग गरिने लेन्ससँग जोडेर जुवा जित्ने गरेको अनुसन्धानबाट खुलेको उनले बताए । उक्त लेन्स आँखामा २ देखि ३ घण्टासम्म लगाउन मिल्ने प्रहरीले जानकारी दिएको छ ।

भारतको महाकाय समूहले ठमेलस्थित वाल्डो क्यासिनोमा मङ्सिर २५ देखि २८ सम्म इभेन्ट गर्न भनेर करिब २ सय खेलाडीलाई ल्याएका थिए । उनीहरु सबै डमी खेलाडी रहेका प्रहरीले जनाएको छ ।

उनीहरुले भारत, नेपाल, श्रीलङ्का, भियतनाम र कम्बोडियामा इभेन्ट सञ्चालनको नाममा यसरी ठग्नै ठग्ने गरेको खुलेको छ ।

महाकाय समूहले यसअघि बौद्धस्थित प्राइड क्यासिनोमा इभेन्ट सञ्चालन गर्दै आएको थियो । नेपालबाट बीपी ग्रुपका खेलाडी विनोद भन्ने जनार्दन उप्रेती इभेन्टमा सहभागी भएको पाइएको छ। उनी नेपालको तर्फबाट मुख्य आयोजक रहेको प्रहरीको दाबी छ ।

उनैले अन्य इभेन्ट आयोजक, खेलाडी, कर्मचारीलाई होटल, प्लेन टिकट, टेबल बुकिङलगायतका सम्पूर्ण काम गरेको, बीपी ग्रुपकै नामबाट होटल र क्यासिनोको बील भुक्तानी गरेको र स्वयम जुवा खेलेको खुलेको छ ।

यसमा संलग्न विनोद भन्ने जनार्दन उप्रेती, गौरव खत्री, मोनु भन्ने निरज कुमार, हिरा शेखर भन्ने मल्ली पुरी, कमल खरबन्दा र मुकेश फरार रहेका र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *