यस्ता छन् उर्जामन्त्री घिसिङले एक सय दिनमा गरेका १०१ काम(पूर्णपाठ)

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले एक सय दिनमा गरेका १०१ कामको सूची सार्वजनिक गरेका छन् ।

बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी ऊर्जासँगै भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका मन्त्री घिसिङले तीन मन्त्रालयबाट १ सय दिनको अवधिमा भएका १ सय कामको सूची सार्वजनिक गरेका हुन् ।

मन्त्री घिसिङले विकास आयोजनालाई बन्धक बनाउने ‘रुग्ण ठेक्का’ तोड्ने प्रक्रियालाई अघि सारेका छन् । उनले १४ वर्षदेखि अलपत्र रहेको झापाको कन्काई पुलसहित सडक विभागअन्तर्गतका ३ अर्ब रुपैयाँ बराबरका ४० वटा रुग्ण ठेक्का रद्ध गरेका छन् भने थप डेढ सय ठेक्का तोड्ने प्रक्रिया सुरु भएको जानकारी दिए ।

त्यस्तै, राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्सनको बाँध र पावरहाउस निर्माणमा ढिलाइ गर्ने निर्माण व्यवसायीसँगको सम्झौता अन्त्य गरी नयाँ प्रक्रिया थालिएको छ । जलस्रोततर्फ मात्रै १४ अर्ब २२ करोडका २२ वटा र सहरी विकासका ४ वटा रुग्ण ठेक्का तोडिएका छन् ।

मन्त्री घिसिङले यसबीच आफूले जनताको विश्वास बोकेको एक सेवकका रूपमा जिम्मेवारी निर्वाह गर्दै आएको समेत बताए । उनले आफूले भाषणभन्दा काम र देखिने नतिजालाई प्राथिमकता दिएको बताए । उनले आलोचनबाट नडराइ, दबाबमा नझुकी र गलतसँग सम्झौता नगरी आफ्नो कर्तव्य पूरा गरिरहेको उल्लेख गरे ।

ऊर्जा क्षेत्रमा मन्त्री घिसिङले विगतको राजनीतिक हस्तक्षेपका कारण उठ्न नसकेको डेडिकेटेड तथा ट्रंक लाइनको प्रिमियम महशुल बक्यौता असुलीलाई प्राथमिकतामा राखेका छन् । यसै अवधिमा नेपालले भारत र बंगलादेशमा करिब १९ अर्ब रुपैयाँ बराबरको बिजुली निर्यात गरेर कीर्तिमान कायम गरेको छ ।

कोटेश्वर चोक सुधारका लागि जापान सरकारको ३४ अर्ब बढीको ऋण सम्झौता, नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी र सिद्धबाबा सुरुङमार्गको कंक्रिट लाइनिङ सम्पन्न हुनुलाई उनले मुख्य उपलब्धिका रूपमा प्रस्तुत गरेका छन् ।

त्यस्तै स्मार्ट लाइसेन्सको अभाव टार्न १२ लाख कार्ड छपाइका लागि सुरक्षण मुद्रण केन्द्रसँग सम्झौता भई छपाइ सुरु गरेको विषयलाई पनि एक सय दिनको उपलब्धिमा राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *