ट्रम्प प्रशासनद्वारा विश्वका ३० देशका राजदूत फिर्ता

वाशिङटन । ट्रम्प प्रशासनले ३० देशका राजदूतलाई फिर्ता बोलाएको छ । राज्य विभागका दुई अधिकारीका अनुसार कम्तीमा २९ देशका ‘चिफ अफ मिशन’ हरूलाई गत साता उनीहरूको कार्यकाल जनवरीमा समाप्त हुने जानकारी दिइएको हो ।

यी सबै कूटनीतिज्ञहरू बाइडेन प्रशासनका बेला नियुक्त भएका थिए । ट्रम्पको दोस्रो कार्यकालको प्रारम्भिक चरणमा मुख्यतः राजनीतिक नियुक्तिहरूलाई लक्षित गर्दै गरिएको हटाइबाट उनीहरू जोगिएका थिए। तर बुधबारदेखि वासिङ्टन डीसीका अधिकारीहरूबाट उनीहरूलाई पदावधि समाप्त हुने सूचना दिन थालिएपछि स्थिति परिवर्तन भएको हो ।

राजदूतहरू राष्ट्रपतिको इच्छाअनुसार सेवा गर्ने भए पनि सामान्यतया तीनदेखि चार वर्षसम्म पदमा रहने चलन छ। यस फेरबदलबाट प्रभावित कूटनीतिज्ञहरूले परराष्ट्र सेवाको जागिर भने गुमाउने छैनन्। चाहेको खण्डमा उनीहरू वासिङ्टन फर्केर अन्य जिम्मेवारी सम्हाल्न सक्ने अधिकारीहरूले बताएका छन् । बुरुन्डी, क्यामरुन, केप भर्डे, गाबोन, आइभरि कोस्ट, माडागास्कर, मोरिसस, नाइजर, नाइजेरिया, रुवाण्डा, सेनेगल, सोमालिया र युगान्डाका राजदूतहरू फिर्ता बोलाइएका छन् ।

त्यस्तै एसिया–प्रशान्त क्षेत्रका फिजी, लाओस, मार्शल आइल्याण्ड्स, पपुवा न्युगिनी, फिलिपिन्स र भियतनाममा राजदूतलाई पनि फिर्ता बोलाइएको छ ।

युरोपका चार देश—आर्मेनिया, नर्थ म्यासेडोनिया, मोन्टेनेग्रो र स्लोभाकिया—यस कदमबाट प्रभावित भएका छन् । त्यस्तै मध्यपूर्वका अल्जेरिया र इजिप्ट, दक्षिण एसियाका नेपाल र श्रीलंका तथा पश्चिमी गोलार्धका ग्वाटेमाला र सुरिनाम पनि प्रभावित देशको सूचीमा परेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *