रोम । अगस्टमा गाजामा घोषणा गरिएको भोकमरीको अवस्था अब समाप्त भएको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ । राष्ट्रसङ्घले मानवीय सहायताको पहुँचमा सुधारको लागि विश्व समुदायप्रति आभार प्रकट गर्दै प्यालेस्टाइनी क्षेत्रको खाद्यान्नको स्थिति अझै पनि ‘गम्भीर’ रहेको चेतावनी दिएको छ ।
“कुनै पनि क्षेत्रलाई अहिले भोकमरीमा वर्गीकृत गरिएको छैन,” संयुक्त राष्ट्रसङ्घले आसन्न सङ्कटको चेतावनी दिन जिम्मेवारी पाएको अनुगमनकर्ताहरूको गठबन्धन एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण पहल (आइपिसी) ले बताएको छ।
आइपिसीले भनेको छ, “स्थिति गम्भीर छ । सम्पूर्ण गाजा पट्टीलाई आपतकालमा वर्गीकृत गरिएको छ ।”
अमेरिकाको पहल र इजिप्ट र कतारको मध्यस्थतामा भएको युद्धविरामले गाजामा सन् २०२३ अक्टोबर ७ मा भएको हमासको घातक आक्रमणपछि सुरु भएको लडाइँ रोकेको छ।
यसै बर्षको अक्टोबर १० देखि लागू भएको यो सम्झौता निकै कमजोर अवस्थामा रहेको छ । सम्झौताका सहमतिकर्ता इजरायल र हमासले लगभग दैनिक रूपमा एक अर्कालाई समझौताको उल्लङ्घनको आरोप लगाउने गरेका छन् ।
“युद्धविरामपछि आइपिसीको पछिल्लो विश्लेषणले भोकमरीको अवस्था अन्त्य भएको र सन् २०२५ अगस्टको विश्लेषणको तुलनामा पछिल्लो समय खाद्य सुरक्षा र पोषणमा उल्लेखनीय सुधार भएको सङ्केत गरेको छ ।
अप्रिल १५ सम्मको अवधिमा करिब १६ लाख मानिसले अझै पनि खाद्य असुरक्षाको ‘सङ्कट’ को स्तरको सामना गर्ने अनुमान गरिएको छ ।
