यत्तिको सफल, भव्य, ठूलो र गुणस्तरीय सामुदायिक विद्यालय युरोपमा पनि सजिलै भेट्न सकिन्न !

-नारायण गाउँले ।

कहाँको फोटो होला यो ? नेपालकै स्कुलको र त्यसमा पनि सरकारी स्कुलको फोटो हो यो ! र, ठूलो कुरो, यो सक्कली नै फोटो हो । बुटवलस्थित कालिका मानवज्ञान माविको नाम सुन्नुभएको छ ? २०१८ सालमै स्थापना भएको हुनाले धेरैले यो स्कुल पढ्नुभएको या आफ्ना बच्चा पढाउनुभएको पनि हुन सक्छ । हेर्दै भव्य लाग्ने र सोच्दै गौरव लाग्ने यो मावि नेपालकै उत्कृष्ट स्कुलमध्ये पर्दो रहेछ । अचम्म त यो देशकै सबैभन्दा ठूलो सामुदायिक स्कुल पनि हो । सात हजार बढ़ी विद्यार्थीलाई पढाउने स्कुलले देशकै उच्च शैक्षिक उपलब्धि हासिल गर्नु चानचुने विषय होइन । यो सानो सङ्ख्या होइन । यहाँ भर्ना गर्न नपाएर मान्छेले छोराछोरी निजी स्कुल पढाउने रहेछन् ।

साठी वर्षअघि देशमा स्कुल खोल्दै गर्दा पनि सयौं वर्षसम्मको आवश्यकता सोचेर जग्गा छुट्याइने गरेको त्यो दूरदृष्टि र सोच त जता हेर्यो त्यतै देख्न सकिन्छ । अझ स्कुल निर्बाध चल्न सकोस् भनेर कैयौं बिगा खेत र गुठीको व्यवस्था समेत हुने गथ्र्यो ! बीस वर्षअघिमात्रै सम्झिनुभयो भने कुनै सरकारी स्कुल या कलेज त्यस्ता थिएनन् जसको आफ्नै चौर, खेलमैदान र बगैंचा नहोस् । कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय, रामपुरको कृषि क्याम्पस या आफू पढेको स्कुल सम्झिनुस् त ।

एउटा विद्यार्थीको सर्वाङ्गीण विकासका लागि कक्षाकोठा मात्रै पर्याप्त हुँदैन भन्ने कुरो त हामीले उहिल्यै बुझेको हो । तर आज भवनमात्रै भएको र भूकम्प आउँदा जम्मा हुने खुला ठाउँसम्म नभएको निजी स्कुललाई किन अनुमति दिइयो होला ? जबकि एउटा नीतिमात्रै बनाए पनि पुग्छ । राज्यको एक सुका खर्च हुँदैन ।
देशको नमुना मानिने कालिका माविमा हरियाली छ, खेल्ने चौर छ, परेड खेल्ने आँगन छ र शहरकै शान बनेको भौतिक संरचना छ । विद्यार्थी पढाइमा मात्रै अब्बल छन् कि जस्तो लागेको थियो, कविता होस् कि वक्तित्वकला, खेलकुद होस् कि सामाजिक सहभागिता, यहाँका छात्रछात्रा नमुनाजस्तै रहेछन् ।
विद्यालयसँग छात्रावास छ, तर निःशुल्क छ । गरिब, पिछडिएका र अनाथ बालबालिका यहाँ बस्छन् र सिकाइको उच्चतम वातावरणमा व्यक्तित्व विकास गर्छन् । विद्यालयका आफ्नै बस छन् । घरमा दुई जना छोराछोरीलाई अनुशासनमा राख्न मुश्किल यो समयमा स्कुलले झन्डै आठ हजार विद्यार्थी र शिक्षक–कर्मचारीलाई आचारसंहिताभित्र अनुशासित बनाएर राखेको छ । सुन्दा सजिलो होला, गर्न यो निकै कठीन छ ।

स्कुल उत्कृष्ट र ठूलो मात्रै छैन, धनी पनि छ । एक करोड़ तीस लाख जतिको त अक्षय कोष र त्यसबाट बाँडिने छात्रवृत्ति नै रहेछ । विद्यालय व्यवस्थापन गर्नेहरूले समेत कोष खडा गर्नु पक्कै उदाहरणीय कार्य हो । यसो गुगल गरेर एकपल्ट यो स्कुलको तस्बिर र उपलब्धिहरू खोजी हेर्नुहोस् । तपाईं छक्क पर्नुहुनेछ र यत्तिको सफल, भव्य, ठूलो र गुणस्तरीय सामुदायिक विद्यालय युरोपमा पनि सजिलै भेट्न सकिन्न ।
गर्ने हो भने त हुने रहेछ । कर्मचारीले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनै पर्ने भन्नेबाहेक सरकारी स्कुलको विकासमा अरू क्लू नभएका नेताहरूले पनि यो स्कुलबारे बुझ्न र सिक्न जरूरी छ । यहाँ पढाउनै पर्ने भएर होइन, पढाउन चाहेर पनि सजिलै भर्ना पाउन सकिन्न । गुणस्तर बढ्यो भने पैसा तिरेर कमसल स्कुलमा कसले पढाउँछ र ।

विद्यालयले ६५औं वार्षिकोत्सव मनाउँदै रहेछ ! अहिलेको र आजसम्मका विद्यालय व्यवस्थापन समिति, आदरणीय शिक्षक र कमर्चारीहरू अनि यो विद्यालयमा पसिना र सपना गोड्ने सबै अभिभावक र समुदायका सदस्यहरूलाई हार्दिक बधाई ! कसैलाई चिन्नुहुन्छ भने नाम नै लिएर धन्यवाद भन्नुहोला !

Leave a Reply

Your email address will not be published. Required fields are marked *