देवेन्द्र गौतम पत्रकारिता पुरस्कार किशोर श्रेष्ठ, हरिबहादुर थापा मगर र चाङ छनयीलाई प्रदान गरिने

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा विश्व प्रेस काउन्सिलका उपाध्यक्ष वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई नेपाली पत्रकारितामा पुर्याएको दीर्घकालीन र विशिष्ट योगदानको कदर गर्दै देवेन्द्र गौतम पत्रकारिता पुरस्कार २०२६ प्रदान गरिने भएको छ ।

देवेन्द्र गौतम पत्रकारिता पुरस्कार समितिले निडर खोज पत्रकारिता, सम्पादकीय स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पक्षमा श्रेष्ठको निरन्तर योगदानले नेपाली पत्रकारितालाई मजबुत बनाएको भन्दै पुरस्कार दिने निर्णय गरेको हो । सम्मानपत्रसहित यो पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ ।

यसैगरी, करेन्ट पब्लिकेशनमा ३५ वर्षभन्दा बढी समयदेखि निरन्तर योगदान पुर्याउँदै आएका प्राविधिक हरिबहादुर थापा मगरलाई पनि देवेन्द्र गौतम पत्रकारिता पुरस्कार २०२६ प्रदान गरिनेछ । संस्थागत स्थायित्व, निष्ठा र दीर्घ सेवाको प्रतिनिधित्व गर्ने उहाँको योगदान नेपाली पत्रकारिताको मौन आधारस्तम्भका रूपमा रहेको छ । सम्मानपत्रसहित यो पुरस्कार राशि पचास हजार रहेको छ ।

यस्तै, चाइना न्युज सर्भिसका वरिष्ठ पत्रकार चाङ छनयी (चीन) लाई नेपाल–चीन सञ्चार र अन्तर्राष्ट्रिय पत्रकारितामा पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप देवेन्द्र गौतम पत्रकारिता पुरस्कार २०२६ प्रदान गरिनेछ ।

उनले नेपालका राजनीति, अर्थतन्त्र, समाज र संस्कृतिसम्बन्धी करिब तीन हजार समाचार, तस्बिर र भिडियो रिपोर्ट प्रकाशन गरेका छन् । उनका सामग्रीहरू विभिन्न देशका सञ्चारमाध्यमहरूमा पुनःप्रकाशित भई नेपालको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेका छन् । सम्मानपत्रसहित यो पुरस्कार राशि पचास हजार रुपैयाँ रहेको छ ।

देवेन्द्र गौतम पत्रकारिता पुरस्कार नेपाली पत्रकारिताका अग्रणी व्यक्तित्व, नेपाल पोस्टका संस्थापक स्व. देवेन्द्र गौतमको स्मृतिमा स्थापना गरिएको हो । सत्य, निष्ठा, जनउत्तरदायित्व र दीर्घकालीन पत्रकारिता योगदानलाई सम्मान गर्नु यस पुरस्कारको मूल उद्देश्य हो ।

अबदेखि यो पुरस्कार फेब्रुअरी १३ मा प्रदान गरिने भएकाले यसले स्मरणभन्दा उत्सव, शोकभन्दा प्रेरणाको सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ । पुरस्कार वितरण समारोहसम्बन्धी विस्तृत कार्यक्रम पछि सार्वजनिक गरिनेछ।

देवेन्द्र गौतम पत्रकारिता पुरस्कार समितिले अबदेखि देवेन्द्र गौतम पत्रकारिता पुरस्कार प्रत्येक वर्ष फेब्रुअरी १३ अर्थात् स्व. देवेन्द्र गौतमको जन्मजयन्तीको अवसरमा प्रदान गर्ने निर्णय गरेको छ । यो व्यवस्था सन् २०२६ देखि लागु हुनेछ ।

यसअघि उक्त पुरस्कार स्व. देवेन्द्र गौतमको स्मृति दिवसमा प्रदान गरिँदै आएको थियो । तर करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरका अध्यक्ष तथा स्व. देवेन्द्र गौतमकी धर्मपत्नी प्रदीपा गौतमको पहलमा यो परम्परामा परिवर्तन गरिएको हो ।

‘स्मृतिदिवसभन्दा जीवन र योगदानलाई उत्सवका रूपमा सम्झनु उचित ठानेका छौँ । देवेन्द्र गौतमले अँगालेका मूल्य र पत्रकारिताको भावना जीवित रहोस् भन्ने उद्देश्यले अब यो पुरस्कार जन्मजयन्तीका दिन प्रदान गरिनेछ ।’ अध्यक्ष प्रदीपा गौतमले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *