-डा.रामकृष्ण तिमल्सेना ।
नेपालको आधुनिक इतिहास वैचारिक आयातको लामो प्रयोगशाला रहँदै आएको छ। विभिन्न कालखण्डमा बाह्य सिद्धान्तहरूलाई सार्वभौम समाधानका रूपमा प्रस्तुत गरियो, तर ती सिद्धान्तहरू नेपालको भूगोल, समाज, संस्कृति र चेतनासँग पूर्णतः मेल खान सकेनन्। परिणामस्वरूप नीति बने, संरचना बने, तर राष्ट्रिय आत्मविश्वास र दीर्घकालीन स्थायित्व कमजोर रह्यो। यही ऐतिहासिक अनुभवबाट जन्मिएको अवधारणा हो मेरो नेपालवाद।
मेरो नेपालवाद कुनै नयाँ वेदान्त होइन, कुनै वैचारिक प्रतिस्पर्धाको अर्को किल्ला पनि होइन। यो नेपालको आफ्नै यथार्थबाट विकसित हुने व्यवहारिक राष्ट्रिय दृष्टि हो। यसको मूल मान्यता सरल तर गहिरो छ।नेपालको समस्या न त पूर्णतः बाह्य छ न त केवल सैद्धान्तिक; त्यसैले समाधान पनि नेपालकै सन्दर्भ, साधन र चेतनाबाट आउनुपर्छ भन्ने यसको मान्यता हो।
१. नेपालवादको बौद्धिक आधार : ऐतिहासिक निरन्तरता र आत्मचेतना
नेपाल राज्य केवल आधुनिक राजनीतिक सम्झौताको परिणाम होइन। यो हजारौँ वर्षदेखि विकसित भएको सभ्यतागत निरन्तरता हो। यहाँ शासन प्रणाली बदलिँदै आए, तर समाजको सहजीवन संस्कृति टुटेन।नेपालवाद यही निरन्तरताको आधुनिक अभिव्यक्ति हो। यसले इतिहासलाई गौरवका रूपमा मात्र होइन, नीति निर्माणको जीवित स्रोतका रूपमा लिन्छ। नेपालवाद न अन्धपरम्परावाद हो न अन्धआधुनिकीकरण। यसले गर्ने प्रश्न हो हाम्रो समाज किन यस्तो छ? हाम्रो राज्य किन यसरी चलेको छ?हाम्रो असफलताको कारण बाहिर हो कि भित्र? यी प्रश्नको इमानदार उत्तरबाट नै नेपालवादको बौद्धिक जग निर्माण हुन्छ।
२. राज्य र नागरिक : सम्बन्धको पुन:परिभाषा
नेपालको मूल संकट राज्य र नागरिकबीचको विश्वास विच्छेद हो। राज्यलाई नागरिकले टाढाको शक्ति ठान्छन्, र राज्यले नागरिकलाई व्यवस्थापनको बोझ। नेपालवाद यस सम्बन्धलाई पुनर्परिभाषित गर्छ। राज्य कुनै दाता होइन, साझेदार हो। नागरिक कुनै उपभोक्ता होइन, उत्तरदायी सहभागी हो।यस दृष्टिमा कानुन नियन्त्रणको उपकरण होइन, सामाजिक सम्झौताको अभिव्यक्ति हो। प्रशासन आदेशमुखी होइन, सेवा उन्मुख हुनुपर्छ। नागरिक चेतना अधिकारमा मात्र होइन, कर्तव्यमा पनि आधारित हुनुपर्छ।
३. अर्थतन्त्र : उत्पादन, आत्मनिर्भरता र मर्यादा
नेपालवादको आर्थिक दृष्टि कुनै सैद्धान्तिक लेबलमा बाँधिँदैन। यसको केन्द्रमा तीन प्रश्न छन् के उत्पादन बढ्दै छ? के रोजगारी स्वदेशमै सिर्जना हुँदैछ? के आर्थिक लाभ सामाजिक रूपमा न्यायपूर्ण छ?
नेपालको अर्थतन्त्र आयात र रेमिट्यान्समा अत्यधिक निर्भर हुनु दीर्घकालीन रूपमा जोखिमपूर्ण छ। नेपालवादले उत्पादनमुखी अर्थतन्त्रलाई राष्ट्रिय प्राथमिकता बनाउँछ। कृषि केवल जीविकोपार्जन होइन, आधुनिक, सम्मानजनक र प्रविधियुक्त क्षेत्र हुनुपर्छ। जलस्रोत केवल निर्यातको वस्तु होइन, ऊर्जा सुरक्षा र औद्योगिक आधार हो। पर्यटन केवल उपभोग होइन, संस्कृति र प्रकृतिको सम्मानसहितको सहजीवन हुनुपर्छ। राज्यको भूमिका नियामक, सहजकर्ता र संरक्षकको हुन्छ, तर उद्यमशीलताको स्थान नागरिक र समुदायको हुन्छ।
४. समाज र संस्कृति : विविधतामा आधारित राष्ट्रिय एकता
नेपाल बहुलता होइन, बहुसमायोजन हो। यहाँ विविधता कुनै समस्या होइन, इतिहासले प्रमाणित गरेको सामाजिक शक्ति हो। नेपालवादले एकरूपता थोपर्ने होइन, सहअस्तित्व संस्थागत गर्ने लक्ष्य राख्छ। भाषा, धर्म, परम्परा र पहिचानलाई राजनीतिक उपकरण बनाउनु नेपालवादको विपरीत हो। शिक्षाले प्रतिस्पर्धा मात्र होइन, नैतिकता, सहिष्णुता र सामाजिक जिम्मेवारी सिकाउनुपर्छ। सञ्चार माध्यमले उत्तेजना होइन, सार्वजनिक विवेक निर्माण गर्नुपर्छ।
५. शासन र नेतृत्व : शक्ति होइन विवेक
नेपालको शासन समस्या कानुनको अभाव होइन, नैतिक नेतृत्वको अभाव हो। नेपालवादमा नेतृत्वको वैधता चुनावी अंकगणनामा मात्र आधारित हुँदैन, चरित्र, पारदर्शिता र उत्तरदायित्वमा आधारित हुन्छ। निर्णय प्रक्रिया छोटो लाभका लागि होइन, दीर्घकालीन राष्ट्रिय हितका लागि हुनुपर्छ। संघीय संरचना अधिकार बाँडफाँटको मात्र विषय होइन, जिम्मेवारी सन्तुलनको विषय हो। नेपालवादमा शक्ति प्रयोग गरिन्छ, तर विवेक बिना होइन।नेतृत्व अगाडि हुन्छ, तर जनता भन्दा ठुलो होइन।
६. परराष्ट्र नीति र राष्ट्रिय हित : आत्मसम्मानसहितको यथार्थवाद
नेपालवादको परराष्ट्र नीति भावनामा होइन, आत्मसम्मान र विवेकमा आधारित यथार्थवाद हो।छिमेकीसँग न त आत्मसमर्पण, न त अनावश्यक उग्रता।राष्ट्रिय हित बहुआयामिक हुन्छ। सीमा, स्रोत, संस्कृति, श्रम र भविष्यका पुस्ता केन्द्रमा हुन्छन्। नेपालवाद राष्ट्रिय सुरक्षालाई केवल सैनिक परिधिमा सीमित गर्दैन। खाद्य सुरक्षा, जल सुरक्षा, ऊर्जा सुरक्षा, सांस्कृतिक सुरक्षा र मानसिक सुरक्षा सबै राष्ट्रिय सुरक्षाका अङ्ग हुन्।
७. कार्यसूची : नेपालवादलाई व्यवहारमा उतार्ने मार्ग
नेपालवाद घोषणामा सीमित हुँदैन। यसको स्पष्ट कार्यसूची छ।नीति निर्माणमा स्थानीय अध्ययन र अनुभव अनिवार्य हुन्छ। उत्पादन, रोजगारी र उद्यमशीलतालाई विकासको केन्द्र मानिन्छ। शिक्षा प्रणालीमा नैतिकता, सीप र नागरिक चेतना अनिवार्य गराइन्छ।प्रशासनिक सुधारमा पारदर्शिता र जवाफदेहिता , संघीयताको व्यावहारिक सन्तुलन र समन्वय, प्राकृतिक स्रोतको दीर्घकालीन र न्यायपूर्ण उपयोग यसका आधारशीला हुन्। नेतृत्व चयनमा चरित्र र योग्यता यसका मुख्य आधार हुन्।
निष्कर्ष : नेपालवाद किन अपरिहार्य छ ?
नेपालवाद कुनै वैचारिक युद्ध जित्नेअष्त्र होइन। यो राष्ट्रिय आत्मचेतनाको पुनर्जागरण हो।यसले भन्छ- हामी अरूजस्तै बन्न खोजेर थाकी सक्यौ। अब आफ्नैपन र शक्तिमा उभिनुपर्छ।जब नीति नक्कल होइन विवेकबाट जन्मिन्छ, विकास संख्या होइन जीवनस्तर बन्छ, नेतृत्व सत्ता होइन सेवा बन्छ, त्यतिबेला नेपालवाद कागजबाट बिचार व्यवहारमा रूपान्तरित हुन्छ। मेरो नेपालवाद अन्ततः यही हो। नेपाललाई बुझेर, नेपालीमै सोचेर, नेपाललाई दीर्घकालीन रूपमा सक्षम बनाउने साझा प्रतिबद्धता सहितको राष्ट्रिय मार्ग हो यो।
