याङ्गुन। म्यानमाको सैन्य ‘जुन्ता’ले पश्चिमी राखाइन राज्यको म्राउक–उस्थित सरकारी अस्पतालमा गरिएको हवाई आक्रमणमा सर्वसाधारणको मृत्यु नभएको दाबी गरेको छ ।
बुधबार राति भएको उक्त आक्रमणमा ३० भन्दा बढी मानिसको ज्यान गएको सहायता संस्थाहरूले बताएका छन् । तर सरकारी सञ्चारमाध्यम ग्लोबल न्यु लाइट अफ म्यानमार मा प्रकाशित वक्तव्यमा जुन्ताले मृतक र घाइतेहरू ‘आतङ्ककारी र उनीहरूका समर्थक’ भएको दाबी गरेको छ ।
जुन्ताका अनुसार अस्पताल प्रयोग भइरहेको भवन अराकान आर्मी (एए) र पिपुल्स डिफेन्स फोर्स (पीडीएफ) ले आधारस्थलका रूपमा प्रयोग गरिरहेका थिए र त्यसविरुद्ध डिसेम्बर १० मा ‘आतङ्कवादविरोधी कारबाही’ सञ्चालन गरिएको हो ।
संयुक्त राष्ट्रसङ्घले भने अस्पतालमा गरिएको आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन हुन सक्ने भन्दै घटनाको स्वतन्त्र अनुसन्धानको माग गरेको छ । विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले स्वास्थ्यकर्मी र बिरामीको मृत्यु भएको तथा शल्यकक्षसहित अस्पतालका मुख्य संरचनाहरू पूर्ण रूपमा ध्वस्त भएको बताएका छन् ।
