भद्रपुर। प्रादेशिक अस्पताल भद्रपुरमा आजदेखि नवजात सघन उपचार कक्ष (एनआइसीयू)सेवा सञ्चालनमा आएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जयकुमार गुप्ताका अनुसार करिब १२ वर्षअघि आवश्यक उपकरण खरिद गरिएपनि जनशक्ति अभावका कारण सेवा सुरु हुन सकेको थिएन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७० सालमा नवजात शिशुको उपचारका लागि एनआइसीयू उपकरण उपलब्ध गराएको थियो ।
स्वास्थ्य मन्त्रालयले हाल चार जना डाक्टर उपलब्ध गराएसँगै अस्पतालको पुरानो भवनमा एकैपटक तीन नवजात शिशुलाई एनआइसीयूमा राखेर उपचार गर्न सकिने गरी व्यवस्थापन भएको डा. गुप्ताले जानकारी दिए ।
जनशक्ति उपलब्ध भएपछि विगत १२ वर्षदेखि अस्पतालको ‘स्टोर’मा राखिएका उपकरण प्रयोगमा ल्याइएका हुन् । एनआइसीयू सेवा सञ्चालनमा आएसँगै उक्त सेवा लिन निजी अस्पताल तथा क्लिनिकमा जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।
हाल एनआइसीयूमा चार जना डाक्टर, नौ जना स्टाफ नर्स र चार जना सुरक्षागार्ड खटिएका छन् । सङ्घीय सरकारले डाक्टर उपलब्ध गराए पनि अन्य जनशक्ति प्रादेशिक अस्पतालकै भएको डा गुप्ताले बताए।
