अमेरिकासँगको शान्ति वार्तामा प्रगति भएको जेलेन्स्कीको संकेत

बीबीसी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी शान्ति दूत स्टिभ विट्कफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनरसँग भएको फोन वार्ता ‘धेरै रचनात्मक’ भएको बताएका छन् ।

जेलेन्स्कीका अनुसार वार्तामा युक्रेन–रुस युद्ध अन्त्यका लागि सम्भावित सम्झौतामा रुसलाई प्रतिवद्ध गराउने उपायबारे छलफल केन्द्रित थियो । उनले अमेरिकासँग सहकार्यलाई निरन्तरता दिने दृढता व्यक्त गरे । मायामीमा जारी तेस्रो दिनको वार्तामा संलग्न युक्रेनी अधिकारीहरू पनि संवादमा सहभागी थिए।

अमेरिकाले रुससँग शान्ति सम्झौता गराउने प्रयासमा ती वार्ताहरू अघि बढाइरहेको छ । तर मस्कोले अहिलेसम्म कुनै महत्वपूर्ण सम्झौता प्रस्ताव नगरेको र युक्रेनमाथि तीव्र बमबारी जारी राखेको युक्रेनले जनाएको छ ।

जेलेन्स्कीले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन्, ‘युक्रेन अमेरिकासँग मिलेर वास्तविक शान्ति हासिल गर्न प्रतिबद्ध छ। हामीले रगतपात रोक्न र नयाँ रूसी पूर्ण आक्रमणको खतरा हटाउन आवश्यक मुख्य विषयहरूबारे विस्तृत छलफल गर्यौं।’

यसैबीच, रुसले शुक्रबार राति युक्रेनमाथि थप ड्रोन र मिसाइल आक्रमण गरेको छ। फ्रान्सका राष्ट्रपति इम्यानुएल माक्रोंले आक्रमणको निन्दा गर्दै जेलेन्स्कीलाई ‘पूर्ण ऐक्यबद्धता’ व्यक्त गरेका छन् ।

माक्रोंले फ्रान्स सबै साझेदारहरूसँग मिलेर तनाव न्यूनीकरण र युद्धविरामका प्रयासमा सहकार्य गर्ने बताएका छन्। उनले सोमबार लन्डनमा हुने बैठकमा जेलिन्स्की, बेलायतका प्रधानमन्त्री सर कियर स्टार्मर र जर्मनीका चान्सलर फ्रेडरिक मर्जसँग सहभागी हुने पुष्टि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *