काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनुपम प्रकृति र ऐतिहासिक संस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्नेमा जोड दिएका छन् ।
ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको आज अवलोकन गर्दै मन्त्री खरेलले परम्परागत सम्पदा, कला र संस्कृतिको धरोहर ललितपुरको सांस्कृतिक सम्पदाको संरक्षण र पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिइने विश्वास व्यक्त गरे ।
सञ्चारमन्त्री खरेलले भने, “नेपालको ऐतिहास, परम्परागत कला र संस्कृतिको जगेर्ना गर्दै यसैको माध्यमबाट विश्वसामु नेपाल प्रवद्र्धन गरिनुपर्छ । ललितपुरको सांस्कृतिक सम्पदा र खाना संस्कृतिलाई अन्तरराष्ट्रियकरण गरिनुपर्छ ।”
सञ्चारमन्त्री खरेलले विभिन्न जातजाति, भाषा, संस्कृति र सम्पदा हाम्रो मौलिक पहिचान होभन्दै सम्पदा शहरको नाममा देश विदेशमा प्रख्यात ललितपुरको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा सबै जुट्नुपर्ने खाँचो औंल्याए । ललिपतुरका मुर्त र अमूर्त सम्पदा संरक्षणमा धार्मिक, संस्कृतिक, ऐतिहासिक कलानगरीको रुपमा परिचित ललितपरको समग्र विकासका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारबीच बलियो समझदारी र सहकार्य जरुरी भएको उल्लेख गरे ।
सञ्चारमन्त्री खरेलले विश्व सम्पदाको सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार क्षेत्रको अवलोकन गरेका हुन् । साथै ऐतिहासिक कृष्णमन्दिर, पाटन दरबार सङ्ग्रहालमा पनि पुगे ।
सञ्चारमन्त्री खरेलले सङ्ग्रहालयमा जारी ‘क्राफ्ट एन्ड कल्चरल फेस्टिभलको समेत अवलोकन गरे । प्रदर्शनीका संयोजक आनन्दवीर बज्राचार्यका अनुसार पाँच दिने प्रदर्शनीमा परम्परागत कला संस्कृति झल्कने सामग्रीहरु प्रदर्शित गरिएको छ ।
मन्त्री खरेलले पाटन दरबार क्षेत्रको ऐतिहासिक एवम् पुरातात्विक महत्वका समपदाबारे जानकारी लिएका थिए । सञ्चारमन्त्री खरेललाई पाटन दरबार संग्रहालयका कार्यकारी निर्देशक रमेशराज पौडेलले जानकारी गराएका थिए ।
मन्त्री खरेरले संग्रहालयपरिसरको सुन्दरी चोक, मूल चोक, केशवनारायण चोक, भण्डारखाल परिसरलगायतको अवलोकन गर्नुभयो । काठमाडौँ उपत्यकाका प्रसिद्ध तीन शहरहरुमध्ये पाटन सबैभन्दा पुरानो शहर मानिन्छ । प्राचीनकालमा यसलाई युगग्राम, यल, मिनङ्ल, ललितपतन, ललितापुरी आदि नामले पुकारिन्थ्यो । पाटन शहर बरदेवलेल स्थापना गराएका हुन् । प्राचीन पाटनको बीचमा रहेको पाटन दरबार क्षेत्र एक प्राचीन स्मारकको धरोहरका रुपमा रहेको छ ।
