हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु

बागमती । बागमती प्रदेशको राजधानी रहेको हेटौँडाको मुख्य सडक विस्तारका लागि आज बिहानदेखि सडक सीमाभित्रका भौतिक संरचनाहरू भत्काउन सुरु गरिएको छ ।

सडक डिभिजन कार्यालय हेटौँडाले आज बिहानैदेखि जेसिबी प्रयोग गरेर हेटौँडाको मुख्य बजार क्षेत्रको २५/२५ गज विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु गरेको हो । पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्ती रोडमा जेसिबी प्रयोग गरी भौतिक संरचनाहरू हटाउन सुरु गरिएको सडक डिभिजन कार्यालय हेटौँडाका गुरूप्रसाद अधिकारीले जानकारी दिए ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडाको रातमाटेदेखि बुद्धचौक हुँदै राप्ती खोला पुलसम्म तथा त्रिभुवन राजपथअन्तर्गत बुद्धचौकदेखि सामरी पुलसम्मको सडकखण्डमा सडकको मध्य भागबाट दायाँबायाँ २५/२५ गजभित्र निर्माण भएका स्थायी र अस्थायी घर टहरा तथा अन्य संरचनाहरू १५ दिनभित्र हटाउन सडक डिभिजन कार्यालय हेटौँडाले गत मङ्सिर ५ गते सार्वजनिक सूचना जारी गरेको थियो ।

तोकिएको समय सीमाभित्र धनीले त्यस्तो भौतिक संरचना नहटाएकाले कार्यालयले डोजर प्रयोग गरेर संरचनाहरू हटाउन थालिएको प्रमुख अधिकारीले बताए । सडक खाली गराउने क्रममा स्थानीयबाट अबरोध हुन सक्ने सम्भावना रहेकाले सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *