रश्मी र मीना चम्किँदा एपीएफको विजयी शुरूवात

काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिपमा नेपाल एपीएफ क्लबले विजयी शुरूवात गरेको छ । शुक्रबार बेलुकी भएको खेलमा बंगलादेशको नास्रिन स्पोर्ट्स एकेडेमीलाई ४-० गोलले पराजित गर्दै एपीएफले प्रतियोगितामा उत्कृष्ट शुरूवात गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफलाई जित दिलाउन रश्मी कुमारी घिसिङ र मीना देउवाले समान दुई/दुई गोल गरे । खेलको ३७ औँ मिनेटमा मीनाको पासमा रश्मीले गोल गर्दै एपीएफलाई शुरूवाती अग्रता दिलाएकी थिइन् ।

७० औँ मिनेटमा मीनाले गोल गर्दै एपीएफको अग्रता दोब्बर बनाइन् । १० मिनेटपछि रश्मीले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई सहज जिततर्फ अगाडि बढाएकी थिइन् ।

यस्तै दोस्रो हाफको इन्जुरी समयमा मीनाले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ४-० गोलको जित दिलाएकी हुन् ।

जितसँगै एपीएफले तीन अंक जोडेको छ । आजै भएको उद्धाटन खेलमा काराँची सिटी र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाढेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *